इलाममा ड्रोन उडाउने १० जना नेपाली युवा भारतीय सशस्त्रद्वारा पक्राउ

हेटौडा न्युज
८ फाल्गुन २०७६, बिहीबार २३:०६
;

इलाममा ड्रोन उडाउने १० नेपाली युवालाई भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ । पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोनमार्फत दृश्य र भिडियो कैद गरिरहेका झापाका नागरिकहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विज्ञान गौतम, विश्वास घिमिरे, निश्चल कार्की, देवेन्द्र सिटौला, कमल सुवेदी, दिपेन गौतम, शाहत रिजाल, निमेश भट्टराई, कृष्ण सापकोटालगायत रहेका छन् । 

सन्दकपुरको पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो निर्माण गर्न उनीहरुले ड्रोन प्रयोग गरेको बुझिएको छ । तर, भारतीय सुरक्षा अधिकारीले सिंह लिला राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र उनीहरुले अवैध रुपमा ड्रोन उडाएको पक्राउ गरिएको दाबी गरेको छ ।

पक्राउ परेकालाई बुधबार दार्जिलिङको सुकेपोखरी प्रहरी चौकी पुयाइएको थियो । उनीहरुविरुद्ध भारतीय दण्ड संहिताको धारा २८७, ३३६, ३४ का साथै एयर क्राफ्ट एक्टको धारा ११ र ११ ९ए अन्तर्गत मुद्दा दायर गरिएको छ । त्यस्तै राष्ट्रिय निकुञ्ज संरक्षणसम्बन्धी ऐनको धारा ५१ र ६१ अन्तगृत थप दुई मुद्दासमेत दर्ता गरिएको छ ।

दार्जिलिङ जिल्ला अदालतले अभियुक्तलाई ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालतका अधिकारी पंकज प्रसादका अनुसार ड्रोन चलाउन डिजिटल पोर्टलमा दर्ता हुनु पर्ने, एयर क्राफ्ट अपरेटरको अनुमति लिनु पर्ने प्रावधान रहेको तर, त्यस्तो पाईएन । नेपाली कानुन अनुसार ड्रोन उडाउन स्थानीय प्रशासनसँग अनुमति लिनुपर्छ भने सीमा क्षेत्रको ५ किलोमिटर टाढा मात्रै उडाउन पाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*