पञ्चेबाजा र खैजडीभजनसहित मकवानपुरगढीमा महायज्ञको कलश यात्रा
मकवानपुरगढीमा महायज्ञको लागि सामरी र ज्यामिरे खोलाको मिलन केन्द्र सीमलटारबाट पञ्चेबाजा र खैजडी भजनसहित कलश यात्रा निकालिएको छ । ५,६ र ३ नम्बर वडाको संगम स्थल भागरथी टोलमा आज शुक्रबारदेखि सुरु हुने त महायज्ञको मकवानपुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले उद्घाटन गर्दैछन् ।
मकवानपुरगढी गाउँपालिका–५ सुन्दरधाम सामरीस्थित श्रीकृष्ण प्रणमी मन्दिर निर्माणमा सहयोग जुटाउने उद्देश्यले आजदेखि श्रीमद्तारतमसागर तथा श्रीमद्भागवत ज्ञान महायज्ञ शुरु हुने भएको हो ।
गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं तथा नेपालकै प्रथम भागवत वाचिका तारा घिमिरेको उपस्थितिमा कलश यात्रा गरिएको छ । महायज्ञमा घिमिरेकै मुखारबिन्दबाट कथा प्रवचन हुने जनाएको छ । यात्रामा वडा ५ का वडा अध्यक्ष जीत बहादुर घिमिरे लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मन्दिर सञ्चालक समितिका अध्यक्ष बालकृष्ण घिमिरेका अनुसार १५ फागुन सम्म जारी रहने महायज्ञ श्रीकृष्ण प्रणमी सेवा समिति नेपाल, मकवानपुरगढीले ४१ औं वार्षिकोत्सवको अवसरमा भूकम्पले क्षतिग्रस्त मन्दिर निर्माणार्थ सहयोग जुटाउन गर्न लागिएको हो ।
मन्दिरको निमार्णलाई पूर्णता दिन २ करोड रुपैयाँ लागत अनुमान छ । महायज्ञबाट ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको मन्दिर सञ्चालक समितिले जनाएको छ ।