सडक निर्माण गुणस्तर र समयमै काम सक्न ठेकेदारलाई मुख्यमन्त्री पौडेलको निर्देशन

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सडक निर्माण गुणस्तर र समयमै काम सक्न ठेकेदारलाई निर्देशन दिएका छन् । बिहीबार शिवपुरी गाउँपालिका ६ स्थित गुर्जेभन्ज्याङ–समुन्द्रदेवी–लिखु पुल–मानेभन्ज्याङ–दुप्चेश्वर सडक शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले उक्त निर्देशन दिएका हुन् । ठेकेदारहरुले योजना अलपत्र पार्ने, सम्झौता अवधिभित्र काम नसक्नेजस्ता समस्या रहेको उल्लेख गर्दै उनले अब त्यसबाट मुक्त हुनुपर्ने बताए ।
मुख्यमन्त्री पौडेलले प्रदेशको शिर निहुर्याउने गरी काम नगरेको दाबी गरे । ‘वाग्मती प्रदेशको शिर निहुर्याउने गरी काम गरेका छैनौं,’ उनले भने, ‘शिर उँचो हुने गरी काम गरेका छौं ।’ प्रदेश सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रैबाट आलोचना भइरहेको बेला पौडेलले खण्डन गरेका हुन् ।
प्रतिनिधि सभा सांसद हितबहादुर तामाङले पनि सडकको गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए । उनले समान ढंगले व्यवहार गर्न र आवश्यकताका आधारमा कार्यक्रम र बजेट व्यवस्था गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । ‘समानता र न्यायका साथ खुट्टा नलर्बराइकन मुख्यमन्त्रीज्यू अगाडि बढ्नस्’ संघीय सांसद तामाङको आग्रह थियो । सांसद तामाङले ठेकेदार र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताए ।
सडक सञ्जालले सबै क्षेत्रलाई विकासको मुहार फेर्ने संघीय सांसद नारायणप्रसाद खतिवडाले बताए ।बागमती प्रदेशका उपसभामुख राधिका तामाङले सबै तहले घरआँगन आउने सडकलाई जुटेर निर्माणमा लाग्नु पर्नेमा जोड दिइन् ।
प्रदेश सरकारको लगानीमा बन्न लागेको गुर्जेभन्ज्याङ – मानेभन्ज्याङ – दुप्चेश्वर सडक २३ करोड ८२ लाख रुपैयाँ ठेक्का लगाइएको छ । गत मंसिर १७ मा सम्झौता भएको ८ किलोमिटरको उक्त सडक ०७८ साल मंसिर १६ मा सम्पन्न गर्ने लक्ष्य छ । स्रोतःकान्तिपुरदैनिक