हेटौंडाका किशोर–किशोरीहरुको कुलतमा फस्ने संख्या वृद्धी, शिवको प्रसाद भन्दै गाँजा खाँदै
पछिल्लो समयमा हेटौंडका किशोरी कुलतमा फस्दै गएका छन् । प्रविधिको विकास भएसँगै किशोर र युवामात्र नभएर किशोरी र युवतीहरु पनि कुलतमा फस्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
हेटौंडाका युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ । सरकारद्वारा प्रतिबन्धित गाँजा तान्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । युवायुवतीहरुको अवस्थामा हेर्दा पनि कुलतमा कसरी फसिररहेका छन् भन्ने यथार्थ झल्किन्छ ।
शुक्रबार शिवरात्रिका दिन हेटौंडा–२ स्थित बनस्खण्डी मन्दिर क्षेत्रमा ७–८ जना महिला चुरोटमा गाँजा भरेर तानिरहेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो भने शिवरात्रिको ‘अवसर’ भन्दै बनस्खण्डीको जंगलमा १६ महिला र पुरुषसँगै बसेर गाँजासेवन गरिरहेको अवस्थामा भेटिएका थिए ।
भेटिएकामध्ये अधिकांश १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा रहेका एक किशोरीको घरबाट फोन आँउदा टयुसन् क्लासमा रहेको बताईन् । यसरी परिवारको नजर बाहिर झुठ बोलेर किशोरकिशोरी कुलतमा फस्ने क्रम बढ्दै गएको छ ।
त्यसैगरी हिजो शिवरात्रीका दिन हेटौंडा–१४ स्थित बँदेलधाप जंगलमा गाँजा तान्दै गरेको अबस्थामा ३ महिला र ४ पुरुष देखा परेको स्थानियले जनाएको छ । स्थानियले प्रहरीलाई खबर गरेपश्चात प्रहरी पुग्दा पुरुषहरु भागिसकेका धिए भने ३ किशोरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
वडा प्रहरी सहायक निरीक्षक साजनकुमार शर्माका अनुसार वडा प्रहरीले पक्राउ गरी थप कानुनी कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ । गाँजासेवन गरेको देखेर गाउँलेले सम्झाउँदा उनीहरुलाई गाँजासेवन गरेका पुरुषहरुले खुकुरी देखाउँदै काट्ने धम्की समेत दिएको स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौंडा–१४ की १८ वर्षीया किशोरी, हेटौंडा–९ की १७ वर्षीया र हेटौंडा–९ कै १८ वर्षीय किशोरी छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकलाई आधार मान्दा हेटौंडाका १५ वर्ष कटेका किशोर किशोरीहरुको संख्या बढ्दै छ । लागूऔषध प्रयोगकर्तामात्रै नभई ओसारपसारमा पनि किशोर किशोरीको संलग्ना रहेको देखिन्छ ।
मकवानपुर लागुऔषध उत्पादनसँगै उच्च प्रयोगकर्ताहरुको जिल्लाका रुपमा समेत परिचित छ । मकवानपुरको पहाडी क्षेत्रमा गाँजा र अफिम उत्पादन हुने गरेको छ भने विभिन्न नाका हुँदै मकवानपुरमा भारतबाट लागुऔषध भित्रिने गरेको छ ।