७० करोड प्रकरण: बाँस्कोटाको अडियो लिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको मुद्धा
निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध संसदको सार्वजनिक लेखा समितिले आइतबार साइबर क्राइमको मुद्धा दायर गरेको छ ।
समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएको हो ।
मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएका थिए ।
समितिको बैठकले ३ दिन अघि नै प्रहरीको साइबर क्राइम ब्यूरोको नाममा छानविन गरेर कारवाहीका लागि पत्राचार गरेको थियो । तर प्रहरीको त्यस किसिमको छुट्टै ब्यूरो नभएका कारण प्रहरी मुख्यालयमा आइतबार अर्को उजुरी दर्ता गरिएको हो । प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता गरेको समितिका सचिव डा. रोजनाथ पाण्डे बताएका छन् ।