महिला दिवसको अवसरमा मकवानपुरमा सप्ताहव्यापी कार्यक्रम

आउँदो फाल्गुण २५ गते अर्थात मार्च ८ का दिन हुने १ सय १० औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मकवानपुरमा एक सातासम्म विविध कार्यक्रम गरिने भएको छ ।
सो अन्तर्राष्ट्रिय महिला दिवसको अवसरका गरिने विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिन आज जिल्ला समन्वय समिति मकवानपुरमा पत्रकार सम्मेलन गरिएको थियो । समितिका सभापति रघुनाथ खुलालले दिवसको अवसरमा जिल्लाका सबै स्थानीय तहका उपप्रमुख तथा सरकारी, गैरसरकारी संस्थाहरुको नेतृत्वमा महिला अधिकार तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको बताएका छन् ।
सभापति खुलालले ग्रामीण भेगका महिलाहरुमा आर्थिक, सामाजिक, शैक्षिकरुपमा पिछडिएका महिलाहरुको सामूहिक विकासमा टेवा पुग्ने विविन्न कार्यक्रमहरु गरिदै आएको पत्रकार सम्मेलनमा बताएका छन् ।
दिवसको अवसरमा महिला जनप्रतिनिधिहरुको भेला, सुत्केरी महिला केयर सपोर्ट, रक्तदान, नारी कविता वाचन, पाठेघर क्यान्सर जाँच, उत्कृष्ट महिला सहकारी सम्मान लगायत महिलाहरुको विकास सम्बन्धि अन्तक्र्रिया कार्यक्रमहरु गरिन लागेको बताईएको छ ।
दिवस सफल बनाउन सबै सरोकारवाला निकायलाई सहभागिताका लागि जिल्ला समन्वय समितिले आग्रह पनि गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका उपसभापति भगवती पुडासैनी, सदस्य देवराज रिमाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम यही फाल्गुण १८ गतेदेखि २५ गतेसम्म हुने छ ।