कोरोनाको सङ्क्रमण ६८ देशमा, ९० हजार बढि सङ्क्रमित

हेटौडा न्युज
१९ फाल्गुन २०७६, सोमबार १८:३९
;

कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ५३ पुगेको छ भने ९० हजार भन्दा बढि सङ्क्रमित रहेको विभिन्न संचार माध्यमहरुले जनाएका छन् ।

कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण सुरु भएको देश चीनमा मात्र २ हजार ९ सय १२ जना र अन्य देशमा १ सय ४१ जनाको मृत्यु भइसकेको छ ।

भाइरसको सङ्क्रमणबाट इरानमा ५४, इटलीमा ४१ र दक्षिण कोरियामा २२ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरस विश्वको ६८ देशमा फैलिएको  जनाइएको छ ।

चीनमा पछिल्ला दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको छ । तर अरु देशमा भने यसले प्रकोपको रुप लिन थालेको छ ।

कोरोनाबाट सङ्क्रमित भएकामध्ये उपचारपछि निको हुने क्रम पनि बढिरहेको छ । अहिलेसम्म सङ्क्रमित भएकामध्ये ४५ हजार एक सय ४४ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाको सङ्क्रमितको मृत्युदर २ देखि ५ प्रतिशतको बीचमा रहेको जनाएको छ ।

तर शून्य दशमलव १ प्रतिशत मृत्युदर रहेको मौसमी फ्लुको कारण बर्सेनि चार लाख मानिसको ज्यान जाने गरेकोले कोरोनाको मृत्युदरको अवस्था भयावह भएकोे विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*