वडाध्यक्ष नै भारतीय नागरिक, भारतीय रहेको दाबीसहित प्रशासनमा परेको उजुरी अलपत्र

हेटौडा न्युज
१९ फाल्गुन २०७६, सोमबार २३:१५
;

जनकपुरधाम : महोत्तरीको रामगोपालपुर नगरपालिकाका-५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक पनि भएको रहस्य खुलेको छ। वडाध्यक्ष चौधरी भारत र नेपाल दुवै देशको नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी परेपछि रहस्य बाहिरिएको हो। स्वतन्त्रबाट निर्वाचित उनी भारत विहार राज्यको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको प्रमाण समेत फेला परेको छ।

उनीमाथि स्थानीय हरिशचन्द ठाकुरले जिल्ला प्रशासन कार्यायमा उजुरी गरेका हुन्। भारतीय निर्वाचन आयोगको लिस्टमा समेत चौधरीको फोटोसहितको मतदाता नामावलीमा नाम रहेको छ। उनको बुवा हिरा चौधरी उल्लेख छ। हिराको नाम पनि भारतको मतदाता नामावलीमा उल्लेख छ। उजुरीकर्ता ठाकुरले दिएको उजुरीसँगै वडाध्यक्ष चौधरी २०१९ मा भारतमा भएको लोकसभाको निर्वाचनमा मत समेत खसालेको प्रमाण पेश गरेका छन्। नक्कली कागजात पेश गरेर चौधरीले नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेको उनको दावी छ। चौधरीमाथि उजुरी गरेको एक महिना वितिसक्दा पनि प्रशसानले छानविनमा चासो नदेखिएको उजुरीकर्ता ठाकुरले गुनासो गरे। उनले भने, ‘सिडिओ साहेबलाई पटक पटक छानविन गरी कारबाही गर्न आग्रह गरे‍ पनि वास्ता गरेका छैनन्।’ उनले गाउँपालिकामासमेत वडाध्यक्ष चौधरीमाथि उजुरी दर्ता गराएका थिए। तर गाउँपालिकाकी उपप्रमुख सिता साहले नागरिकतासम्बन्धी छानविन तथा कारबाही गर्ने अधिकार नभएकाले केही गर्न नपाएको बताएकी छन्।

उनले जिल्ला प्रशासन कार्यालयसँग छानविन गरी दोषी ठहर भए कानुन बमोजिम कारबाही गर्न माग समेत गरिन्। संविधानमा कुनै व्यक्तिले दोहरो नागरीकता लिएको पाइएमा दण्ड जारिवानसहित जेल सजाय हुने प्रावधान छ। वडाध्यक्ष चौधरी भारतीय नागरिक ठहर भएमा पद समेत गुम्नेछ। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले निवेदन आइसकेकाले अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनले छानविनपछि दोषी ठहरिए कारवाही हुने जानकारी दिएका छन्। स्रोत: थाहाखबर 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*