“चारआली जान्छु” भनि हिडेका पूर्वसभासद् ‘नख्खु जेल ब्रेकर’ मृत अवस्थामा फेला 

हेटौडा न्युज
२० फाल्गुन २०७६, मंगलवार २०:०३
;

तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत अवस्थामा फेला परेका छन्  । आज मंगलबार बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

झापाको मेचीनगर–१३ दुहागढी घर हुनुभएका उनले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिनुभएका उनी त्यसपछि सम्पर्कविहीन थिए ।

उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ ।  नेपालबाट गएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट सभासद् निर्वाचित भएका थिए ।

उनले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए । नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए ।  भारतीय प्रहरीले उनी एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको  इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जनाएको छ ।  मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*