तस्करहरुले अपनाए नयाँ जुक्तिः चार करोडको सुन गाडीको बेरिङ्गमा

६ किलो २ सय ८९ ग्राम ३५० मिलि ग्राम सुन सहित एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्नाटकका ४२ बर्षीय अब्दुल मजिद अनेकल रहेका छन् ।
मंगलबार बिहान हेटौंडा–१५ रातोमाटेमा काठमाडौंबाट विरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई चेकजाँचका क्रममा अनेकललाई सो परिणामको सुन सहित पक्राउ गरिएको हो । अब्दुलले उक्त परिणामको सुन गाडीमा प्रयोग हुने फलामको बेरिङ्ग भित्र लुकाएर ल्याएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिएका छन् । प्रहरीलाई बेरिङ्ग भित्रबाट सुन निकाल्न मात्रै करीब ३ घण्टा लागेको थियो ।
आज मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत सुन सहित सार्वजनिक गरेको हो । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरको अनुसार पक्राऊ गरिएको सो सुनको नेपाली बजार मुल्य ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार रहेको जनाइएको छ ।
सो सुन त्रिभुवन विमान स्थलबाट भित्रिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाडीको बेरिङ्ग भएपछि विमान स्थलमा रहेको स्क्यानमा समेत बेरिङ्ग भित्रको वस्तु नदेखिने हुनाले तस्करहरुले सो जुक्ति अपनाएको प्रहरीको छ ।
पक्राऊ परेका अब्दुलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अब्दुललाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।