अर्थमन्त्रीमा पुनः युवराज खतिवडा नियुक्त
डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरिएको छ । प्रधानमन्त्री केपी ओलीले मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।
खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्नेछन् ।
राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए ।
संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।