शिखरकटेरी बस दुर्घटना: मृत्यु हुनेको संख्या ४ पुग्यो

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार ०५:३९
;

मकवानपुरको शिखरकटेरीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरी गैरीभञ्ज्याङमा बुधबार साझ बसको ब्रेक फेल भएर सडक छेउमा पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटना ३ जनाको घटनास्थल नै र अर्को एक जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गढी ७ सुकौराका २४ बर्षीय सुरज लो को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतक लो सहित ३ जनाको हेटौंडामा उपचार सम्भव नभएपछि चितवन पठाइएको थियो।

मृत्यु हुनेमा गढी गाउँपालिका वडा नम्बर ७ सुकौरा गेबडाँडाका २७ बर्षीय सोमबहादुर मोक्तान र ४० बर्षीय सोमबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अर्का एक पुरुषको पहिचान खुलेको छैन ।

मकवानपुर गढिको जीतपुर भञ्ज्याङबाट सुकौरा सातकन्या जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ती बोकेको बस दुर्घटना भएको थियो ।

दुर्घटनामा ५२ जना घाइते भएका छन्, जसमा १८ जना महिला र ३४ जना पुरुष रहेका छन् ।

दुर्घटनामा घाइते भएकामा ४ जनाको अवस्था गम्भिर, २२ जनाको मध्यम र २६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये २८ जनाको हेटौंडा अस्पतालमा र बाँकीको चुरेहिल अस्पतालमा उपचार भईरहेकोमा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*