सभा सम्मेलन नगर्न मकवानपुर प्रशासनको निर्देशन
सभा सम्मेलन तथा सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ ।
विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला मकवानपुरमा पनि सभा सम्मेलन तथा सार्वजनिक कार्यक्रम नगर्न कार्यालयले आग्रह गरेको हो ।
आज जिल्ला प्रशासन कार्यालयमा सर्बपक्षिय छलफलबाट अर्को सूचना जारी नभएसम्मको लागि सभा, सम्मेलन, मेला, महोत्सव लगायतका कार्यक्रम गर्न रोक लगाएको छ ।
हाल बजारमा मास्कको कालोबजारी भइरहेको भन्ने खबरलाई मध्यनजर गदै बैठकले बजार अनुगमन समिति बनाई बजार अनुगमन गर्ने बताएको छ ।
बैठकमा बागमती प्रदेशको प्रदेशसभा सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, विभिन्न राजनैतिक दलका प्रतिनिधी, सञ्चारकर्मी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यालयले जिल्लाबासीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सचेत रहन समेत अनुरोध गरेको छ ।