आज हावाहुरी, चट्याङ र असिनासहित ठूलो वर्षा हुने, होसियारी अपनाउन मौसमविद्को आग्रह
आज शुक्रबार हावाहुरी, चट्याङ र असिनासहित ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएको छ । प्रिमनसुन लागेयताकै स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना रहेको जनाईएको छ ।
साथै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जनाएको छ । ‘यो प्रि–मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुन्छ,’ शुक्रबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् नगरकोटीले भनिन्, ‘यसकारण आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।’
यसैगरी वर्षाका साथमा आज हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन उनको सुझाव छ ।