आइसीयुमै प्रधानमन्त्री ओली ले गरे ठट्टा, उनले भनेः मेरा बा ९० पुग्‍नु भो, म पनि त्यति त बाँच्छु नि!

हेटौडा न्युज
२३ फाल्गुन २०७६, शुक्रबार १७:३१
;

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली उठेर बस्न थालेका छन् । बुधबारको प्रत्यारोपनपछि बिहीबार बिहानदेखि झोल पदार्थ खान थालेका प्रधानमन्त्री ओली शुक्रबार बिहानदेखि अस्पतालको आईसीयुमा उठेर बस्न थालेका हुन्।

आईसियुको बेडबाट उठेर बस्न थालेसँगै ओलीले चिकित्सकहरुसँग हाँसो ठट्टा गर्न थालेका छन् । आफ्ना निजी चिकित्सकहरु डा.अरुण सायमी, डा. दिलीप शर्मा र डा. दिव्या सिंह शाहसँग ओली खुलेर ठट्टा गरिरहन्छन्।

उनले चिकित्सकहरुसँगको ठट्टाका क्रममा आफ्न बुवा मोहनप्रसाद ओलीलाई सम्झिएका थिए। ‘मिर्गौलाले काम गर्न थालिगयो, अब मलाई अझै १५/२० वर्ष केही हुँदैन’, ओलीले ठट्यौली शैलीमा चिकित्सकहरुसँग भने, ‘मेरा बा अहिले ९० वर्ष पुग्नुभयो, म पनि त्यति त बाँच्छु नि!’

प्रधानमन्त्रीलाई आजेदेखि फिजियोथेरापी पनि गराउन थालिने उनको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीलाई यसअघि पटक पटक छातीको संक्रमणले सताएको थियो। यो पटक उक्त संक्रमण दोहोरिन नदिन चिकित्सकले विशेष सजगता अपनाएका छन् । सीमित चिकित्सक मात्रै ओलीको नजिकमा छन्।

ओलीलाई मिर्गौला दान गरेकी ३२ वर्षीया भाञ्‍जी समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा सुधार भएसँगै उनलाई केही दिनमै डिस्चार्ज दिने तयारी चिकित्सकहरुले गरेका छन्।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*