ललिता निवास जग्गा प्रकरणः गच्छदारसहित ७४ जनाविरुद्द १५ दिने म्याद जारी
ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेका मध्ये ७४ जनालाई विशेष अदालत काठमाडौंले अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ । अदालतका उपरजिष्ट्रार प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार अदालतले शुक्रबार ७४ जनाको नाममा १५ दिने म्याद जारी गरेको हो ।
म्याद जारी गरिएका मध्ये कांग्रेस उपसभापति तथा तत्कालीन मन्त्री विजयकुमार गच्छदार पनि छन् । अख्तियारले गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो ।
अदालतले अख्तियारले आरोपपत्र दायर गर्दा क्रम संख्या १ देखि ४५ सम्मका व्यक्तिलाई र क्रम संख्या ११० देखि १४० सम्मका व्यक्तिलाई म्याद जारी गरिएको प्रवक्ता पाण्डेयले बताए । क्रम संख्या ८ को भने ठेगाना नभेटिएकाले म्याद जारी नभएको पाण्डेयले बताए । ती मध्ये क्रम संख्या १ देखि ४५ सम्मका ४४ जना भ्रष्टाचार आरोप लागेका र ११० देखि १४० सम्मका ३० जना जग्गा जफत प्रयोजनमा अभियोग लगाइएका छन् ।
गच्छदारलाई अख्तियारले क्रम संख्या ४१ मा आरोपपत्र दायर गरेको थियो । गच्छदारलाई आरोपपत्रमा ८ देखि १० वर्षसम्म कैद सजाय पनि माग दाबी गरिएको छ ।
म्याद जारी गरिएकामा अख्तियारले ललिता निवास प्रकरणमा प्रतिवादी बनाइएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त पनि छन् । अख्तियारले पन्तलाई ३३ र श्रेष्ठलाई ३४ क्रम संख्यामा मुद्दा दायर गरेको थियो । पन्तलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिवका रुपमा भ्रष्टाचार गरेको उल्लेख छ ।
त्यस्तै अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ । उनलाई क्रम संख्या ३९ मा मुद्दा दायर गरिएको थियो । बस्न्यातलाई पनि भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिवका रुपमा भ्रष्टाचार गरेको उल्लेख छ ।
त्यस्तै शुक्रबार म्याद जारी भएकामा भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य पनि छन् । त्यस्तै मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजाका नाममा पनि म्याद जारी भएको प्रवक्ता पाण्डेयले बताए ।
जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याण, गैरआवासीय नेपाली संघ, कल्पना तुलाधरको नाममा पनि म्याद जारी भएको अदालतले जनाएको छ ।
अख्तियारले गएको माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित ११० जना विरुद्ध आरोप पत्र दायर गरेको थियो भने ६५ जनालाई प्रतिवादी बनाइ जग्गा जफत गर्ने निर्णय गरेको थियो । ती मध्य ७४ जनाका नाममा म्याद जारी भएको हो । स्रोतः कान्तिपुरदैनिक