रातारात कालोपत्रे हुन थाले काठमाडौँका सडक, २० घण्टा काम, रातभर अनिँदो कामदार
अहिले उपत्यकाका धेरै सडक खण्डमा बेलुका खाल्टाखुल्टी भएको ठाउँमा बिहानसम्म कालोपत्रे थपिने क्रम बढिरहेको छ ।
काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनमा झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ । अहिलेसम्म उपत्यकामा आवधिक मर्मतसहित झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन आएको हो । त्यहीँ परिवर्तनको नतिजा दिलाउन खटिने कर्मचारीको कथा भने मार्मिक छ ।
उनीहरूले न निन्द्रा भन्न पाएका छन्, न सार्वजनिक बिदा । त्यति मात्र हैन, दिउँसो कार्यालय र रातभरि फिल्डमा खटिने कर्मचारीले थप सुविधा बिना नै काम गरिरहेका छन् ।
सडक विभाग डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले बिहीबार रातभरि काममा खटिएको बताए । स्रोत: राजधानी दैनिक