पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम बिस्फोट, विप्लब समूहले गराएको आशंका
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ ।
मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घरको कम्पाउन्डमा बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।
विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।
बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन ।