मिटरब्याजको पैसा तिर्न अपहरणको नाटक,  आफ्नै बाबुसँग मागे ३० लाख फिरौती 

हेटौडा न्युज
२८ फाल्गुन २०७६, बुधबार २२:३०
;

मोरङमा आफ्नै अपहरणको नाटक गरेर बुबासँग फिरौती माग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । बुढिगंगा गाउँपालिलका–३ बासबारीका २४ वर्षका मुकेशनारायण महतोले बाबु शिवनारायणसँग आफू अपहरणमा परेको भन्दै ३० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।

प्रहरीले अपहरणको नाटक गर्ने मुकेशलाई पक्राउ गरेको छ भने उनका बुबाले बुझाएको फिरौती रकम २१ लाखमध्ये १९ लाख ५३ हजार बरामद गरेको छ ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मुकेशले गत २३ गते विहान ११ बजे बुबालाई फोन गरेर आफू अपहरणमा परेको र अपहरणकारीले ३० लाख मागेको जानकारी गराएका थिए ।

सुरुमा अपहरणकारीले लाहानमा राखेको बताएका उनले त्यसपछि जनकपुर र कोशी ब्यारेजमा राखेको जानकारी गराएका थिए । फागुन २६ गते शिवनारायणले फिरौती रकमबापत २१ लाख रुपैया तिरेका थिए ।

त्यसै दिन प्रहरीले अपहरणको नाटक गर्ने मुकेशलाई बेलुका ५ बजे सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो । डीएसपी राईका अनुसार प्रहरीले फिरौतीको रकमसहित बुढिगंगा ३ का कृष्ण राजवंशीलाई पनि पक्राउ गरेको थियो ।

फिरौती लिएको रकममध्ये करिब डेढ लाख उनीहरुले खर्च गरेको र बाँकी बरामद भएको उनले बताए । प्रहरीका अनुसार मुकेशले एक वर्षअगाडि सापटी लिएको ५ लाख रुपैयाँ मिटर ब्याजका कारण ९६ लाख पुगेको र उक्त रकम नतिरे ज्यान मार्ने धम्की दिएकाले अपहरणको नाटक गरेर रकम उठाएको बताए ।

घर परिवारबाट पैसा माग्न लाज लागेर अपहरणको नाटक गरेको अनुसन्धानबाट खुलेको डीएसपी राईले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोतः अनलाईनखबर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*