मकवानपुरका २६ प्रतिशत बालबालिका पूर्णखोप विहीन
मकवानपुरमा २६ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको पाइएको छ । सरकारले सतप्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य लिए पनि भौगोलिक बिकटता र सचेतनाको अभाबका कारण २६ प्रतिशत बालबालिका पूर्णखोपबिहीन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा दोस्रोे चरणको खोप अभियान सञ्चालनको तयारीमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले अघिल्लो आर्थिक वर्षको तथ्याङ्क देखाउँदै भने, गत आर्थिक वर्ष०७५/ ७६ मा मकवानपुरमा ७४ प्रतिशत बालबालिकाले दादुरा/रुवेलाको खोप लगाए पनि २६ प्रतिशतले लगाएका छैनन् ।
मकवापुरको जस्तै तथ्याङ्क देशभरको रहँदा सरकारले २०१९ सम्म दादुरा/रुवेला नियन्त्रित मुलुक घोषणा गर्ने भने पनि अभियान सफल नभएपछि सन् २०२३ सम्म पुर्याएको जानकारी दिए ।
जिल्लास्तरीय खोप समन्वय समितिले सञ्चालन गर्ने अभियान जिल्लामा दुई चरण चल्ने बताइएको छ । १० स्थानीय तह रहेको मकवानपुरमा पहिलो चरणमा चैत्र १ गतेबाट बकैया, राक्सिराङ, कैलाश, बागमती र मनहरी गाउँपालिकामा र दोश्रो चरणमा हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिकासहित भिमफेदी, इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिकामा सञ्चालन हुने अभियान चैत्र २३ गते सकिने बताइएको छ ।
अभियानमा ९ देखि २४ महिना उमेर समुहका १२ हजार ९८ र २४ देखि ५९ महिनाका ३१ हजार २०५ जना गरी ४३ हजार ३०३ जना बालबालिकालाई खोप लगाइने समितिले हेटौंडामा पत्रकार अन्तरक्रिया गर्दै जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख उपाध्यायाका अनुसार बालबालिकालाई खोप लगाउँनका लागि ४४ वटा स्वास्थ्य चौकी र १०२ वटा बडामागरी, ५४१ वटा खोपकेन्द्रमार्फत चार हजार ६६२ भाइल खोप लगाइने बताइएको छ ।
खोपका लागि ५८९ खोप कार्यकर्ता, एक हजार १७८ जना स्वयमसेवकले दिनमा ७३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका प्रमुख उपाध्यायले जनाएको छ ।
उनका अनुसार मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिका दादुरा/रुवेला खोपको जोखिमपूर्ण क्षेत्रको रुपमा रहेको छ । स्रोतः अनलाईनखबर