पूर्वसांसदलाई १० वर्षको जेल सजाय, १० लाख जरिवाना
भारतीय जनता पार्टी (भाजपा)का पूर्वसांसद कुलदिप सिंह सेंगरलाई १० वर्षको जेल सजाय भएको छ।
उत्तरप्रदेशको उन्नावमा बलात्कार भएकी पीडितकी बुबाको हत्याको आरोपमा सेंगरलाई दिल्लीको तीस हजारी अदालतले शुक्रबार १० वर्षको जेल सजाय र १० लाख जरिवाना सुनाएको हो।
साथै यस घटनामा संलग्न अन्य छ जनालाई पनि जेल सजाय सुनाएको छ। तर सेंगरले उनको मृत्युमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।
बुधबार अदालतले सेंगर, उनको भाइ र अन्य दुई प्रहरीलाई सन् २०१७ मा बलात्कार पीडित बुबाको हत्या प्रकरणमा दोषी ठहर्याएको हो।
सेंगरलाई सन् २०१९ मा तीस हजारी जिल्ला अदालतले बलात्कार गरेको आरोपमा जेल पठाएको थियो। उनलाई उत्तरप्रदेशको संसदले गत महिना निलम्बन गरेको थियो।
सन् २०१८ अप्रिल ३ तारिखमा पीडित महिलाकी बुवा र उनका सहकर्मी अदालत जाँदै गर्दा सेंगरका समर्थकहरूले कुटपिट गरेका थिए । पाँच दिनपछि अस्पतालमा उनको मृत्यु भएको थियो।
यसअघि २०१९ डिसेम्बरमा अदालतले सेंगरलाई बलात्कारको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको थियो।