पर्यटन क्षेत्रमा प्रदेश सरकारको १ सय योजनाका काम शुरु
बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास एवम् विस्तारका लागि प्रदश मन्त्रालय मातहतको पर्यटन विकास आयोजनाबाट एक सय वटा योजनामा काम शुरु गरेको छ । आयोजनाले चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको एक सय वटा योजनाको काम शुरु गरेको हो ।
ठेक्का मार्फत २९ वटा ठुला योजना र उपभोक्ता समिति मार्फत अरु ७० वटा योजानको काम गर्दै आएको आयोजनाले बताएको छ ।
आयोजनाले हाल हिल स्टेशन, जुगल हिमाल आरोहण, इन्द्रसरोवरलाई प्रथमिकतामा राखेर योजनाका काम गर्न सुरु गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताए । प्रदेश भित्रका जिल्लामा रहेका प्राचीन गढीहरुको संरक्षण तथा पर्यटकिय क्षेत्रका रुपमा विकासका लागि आवश्यक तयारी समेत थालिएको उनले बताए ।
बागमती प्रदेशलाई पर्यटकीय हवको रुपमा विकास गर्दै लैजाने र प्रदेशमा धेरै भन्दा धेरै पर्यटक भित्रयाउने उद्देश्यका साथ पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधार निमार्णको कामलाई जोड दिइएको मन्त्री नेपालले बताए । देशका अन्य छ वटा प्रदेश मध्ये बागमती प्रदेशलाई पर्यटकिय गन्तव्यका रुपमा विकाश गर्न प्रदेश सरकारले अभियानकै रुपमा काम सुरु गरेको उनले बताए ।
अघिल्लो आर्थिक वर्षमा प्राविधिक कर्मचारीको अभावले पर्यटन क्षेत्रको वजेट खर्च हुन नसकेका कारण सोचे अनुसारको उपलब्धि हासिल हुन नसकेको मन्त्री नेपालको गुनासो थियो ।
चालु आर्थिक वर्षमा भने वर्षको सुरुवात देखिनै पर्यटन क्षेत्रको विकाशका लागि आवश्यक तयारी पुरा गरी कामको सुरुवात गरीएकाले ९९ सय वटा योजनाको काम सुरु गर्न पर्यटन विकास आयोजना सफल भएको आयोजानका प्रमुख शिव सापकोटाले बताए ।
सापकोटाका अनुसार पर्यटन पूर्वाधारका क्षेत्रमा ७५ लाख देखि ५ करोड रुपैयाँ लागत पर्ने योजनामा ठेक्का मार्फत काम भइरहेको बताए ।