मुना हत्याकाण्ड: घटनाको कारण अझै पत्ता लागेन, मुनाका श्रीमानले दिए यस्तो बयान !

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार २३:२१
;

ललितपुरको सानेपामा मुना कार्कीको हत्या र कामदार विजय चौधरीको ‘आत्महत्या’ को एक महिना बितिसक्दा पनि प्रहरीले घटनाको कारण पत्ता लगाउन सकेको छैन।

मुनाका पति अर्जुन कार्कीसँग प्रहरीले बयान लिएपनि घटनाको मनसाय खुल्ने कुनै विषय फेला नपरेको प्रहरीको भनाइ छ।

गत माघ २७ गते मुना र विजय सानेपास्थित घरमै मृत फेला पर्नु भएको थियो । माघ २८ मा अर्जुनले महानगरीय प्रहरी परिसर जावलाखेल पुगेर किटानी जाहेरी दिनु भएको थियो । घटनाको २१ दिनपछि अर्जुनसँग बयान लिइएको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनु भयो ।

‘उहाँसँग हाम्रो टीमले अन्तर्वार्ता लिएको छ। उहाँले पनि घटना घटाउनुपर्ने त्यस्तो शंकास्पद लागेको विषय केही भन्नुभएको छैन,’ एसएसपी राईले भन्नु भयो, ‘विस्तृतमा अन्तर्वार्ता अध्ययन भइरहेको छ।’

कार्कीले विजय चौधरी र आफ्नो परिवारमा कुनै दुस्मनी नभएको प्रहरीसमक्ष बताउनु भएको छ । ६ वर्षदेखि आफ्नो घरमा घरेलु कामदार बसेका विजयले आफूसँग खासै कुरा गर्ने नगरेको अर्जुनले बताउनु भयो ।

‘मसँग खासै कुरा गर्दैनथ्यो, काम अह्राएपछि नजिकै आएर उभिन्थ्यो,’ एसएसपी राईका अनुसार अर्जुनले बयानमा भन्नु भएको छ, ‘मुनाले नै विजयलाई अह्राउने, काम लगाउने गर्थिन्।’

विजयले घटना घटाउनैपर्ने खालको कुनै व्यवहार नदेखाएको अर्जुनको भनाइ छ। विजयले मागेको बेला पैसा दिने गरेको पनि उहाँले बताउनु भएको छ ।

‘कहिलेकाहीँ काम अह्राउँदा छिटो गरिनस् भनेर सामान्य गाली गरेको हुनसक्छ,’ एसएसपी राईले अर्जुनको भनाई उधृत गर्दै भन्नु भयो, ‘हत्या गर्ने निष्कर्षमा ऊ किन पुग्यो होला ? मागेको बेला पैसा दिएकै थियौं।’ स्रोत : नेपाल खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*