मकवानपुरका दुर्गम क्षेत्रमा अझै कुपोषणः उमेर दुई वर्ष, तौल साढे २ केजी

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार १८:०६
;

तौल– साढे २ केजी, उमेर– दुई वर्ष पूरा, नाम– सुमन चेपाङ । मकवानपुरको दुर्गम कैलाश गाउँपालिका–४ लिक्चेका सुमनको सामान्य चिनारी हो यो । असामान्य रूपमा उनको भुँडी ठूलो छ । तिघ्राको मासु मुजा परेको देखिन्छ । गाला ख्याउटे छ । आइतराम–सीतामायाका चौथो सन्तान हुन् उनी । तर उनलाई एकपटक पनि बालभिटा खुवाइएको छैन । 

नीमात्र होइन दाइ र दिदीको स्वास्थ्य अवस्था पनि त्यति राम्रो छैन । उनीहरूले पनि बालभिटा चाखेका छैनन् । सीतामाया सुत्केरी हुन स्वास्थ्य चौकीमा कहिल्यै पुगिनन् । व्यथा लागेपछि घरमा नै झारफुक गरेर असुरक्षित ढंगले सन्तान जन्माइन् ।

२३ वर्षीया उनको पेटमा ६ महिनाको गर्भ छ । अब तीन महिनापछि पाँचौं सन्तानकी आमा बन्नेछिन् । उनले एकपटक पनि गर्भ जाँच गरेकी छैनन् । जाँच्नुपर्छ भनेर उनलाई जानकारी पनि छैन । स्वास्थ्य चौकी वा अस्पतालमा सुत्केरी भए भत्ता पाइन्छ भन्नेसमेत उनलाई पत्तो छैन ।

कैलाश–२ लिक्चेकै २२ वर्षीया मंगलीमाया चेपाङको पेटमा बच्चा छ । केही दिन आयोजित स्वास्थ्य शिविरमा १३ महिने छोरीलाई लिएर आएकी उनले पहिलोपटक गर्भ परीक्षण गराइन् । छोरी भने कडा कुपोषणले ग्रस्त छिन् । ‘तीनटै छोरी घरमै जन्माको हुँ,’ उनले भनिन्, ‘१६ वर्षमा बिहे भयो, साढे १७ हुँदा पहिलो छोरी जन्मियो ।’

सीतामाया र मंगलीमायामात्र होइन अधिकांश चेपाङ महिलालाई गर्भ परीक्षण गराउनुपर्छ भन्नेबारे थाहा नभएको स्वास्थ्य शाखाका संयोजक श्याम महतोले बताए । उनीहरूका सन्तान कुपोषणले ग्रसित छन् । उक्त वडामा स्वास्थ्य चौकी छैन । गाउँपालिकाको केन्द्रमा भएको स्वास्थ्य संस्थामा पुग्न तीन घन्टा हिँड्नुपर्छ ।

कैलाश गाउँपालिकामा गत आर्थिक वर्षमा एक हजार ८ सय २० बालबालिकामा बालभिटा पुर्‍याउने लक्ष्य लिइएकोमा पहिलोपटक ३ सय ५० जनाले मात्रै लगेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कैलाशमात्र होइन राक्सिराङ गाउँपालिका अधिकांश बालबालिका कुपोषणको सिकार बनेका छन् ।

राक्सिराङमा गत आवमा एक हजार ८ सय ३० बालबालिकालाई बालभिटा खुवाउने लक्ष्य राखिएकोमा साढे ३ सय अभिभावकले मात्र बालभिटा लगेका थिए । बच्चाले खान मन नगरेको भन्दै दोस्रो र तेस्रोपटक कसैले पनि नलगेको स्वास्थ्य प्रमुख विजय कापरीले बताए । ‘गाउँमा बच्चाबच्ची कुपोषणले ग्रसित छन् तर बालभिटा खुवाउँदैनन्,’ उनले भने, ‘पोषणयुक्त खाने कुरा छैन, कुपोषित हुनबाट जोगाउन बालभिटा पनि खुवाउँदैनन् ।’ सुगम बन्दै गरेको थाहा नगरपालिकाले गत आवमा नगरभित्रका एक हजार ३ सय ३२ बालबालिकालाई बालभिटा खुवाउने लक्ष्य राखेकोमा पहिलोपटक ५ सय ५८ जनाले मात्र लगेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

मकवानपुरको स्थानीय तहमा लक्ष्य र तथ्यांकअनुसार बालभिटा खाने बालबालिकाको संख्या ज्यादै न्यून छ । बरु खपत नभएर म्याद नाघेर नष्ट गर्नुपरेको स्वास्थ्यकर्मीहरूले बताए । जन्मेको ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन र फुर्तिलो राख्न बालभिटा खुवाउने गरिन्छ ।

पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गत बालभिटा कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहले बालभिटा निःशुल्क रूपमा उपलब्ध गराउँदै आइरहेको छ । बच्चा जन्मेको ६ महिनादेखि ११ महिनासम्म, १२ महिनादेखि १७ महिनासम्म र १८ महिनादेखि २३ महिनासम्मलाई हुने गरी तीनपटक बालभिटा वितरण गर्ने गरिएको छ । स्रोतः कान्तिपुरदैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*