नौ लाख लूट प्रकरणमा नयाँ तथ्यः डलर छ भनेको झोलाभित्र कागजका बिटा मात्र !

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार २०:३२
;

चितवनको खैरहनीमा दिनदहाडै ९ लाख रुपैयाँ लुटिएको भन्ने घटनामा नयाँ तथ्य फेला परेको छ । खैरहनी –८ पर्सा बजार नजिक ९ लाख रुपैयाँ लुटिएको नभई ठगी भएको खुलासा भएको हो ।

पीडित भनिएका गुल्मी जिल्ला सत्यवती गाउँपालिका ६ बस्ने वर्ष ३१ का नारायण घर्ती चितवनमा जग्गा खरिदका लागि नभई अमेरिकी डलर साट्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

घर्तीले ९ लाख नेपाली रुपैयासँग २७ हजार अमेरिकी डलर साट्ने योजनाअनुसार बैंकबाट रकम निकाली पर्साबजार पुगेका थिए । अनिल राई नाम गरेका व्यक्तिले घर्तीको साथबाट ९ लाख रुपैयाँ लिएर २७ हजार डलर रहेको भन्दै एउटा झोला उनलाई दिएका थिए । तर, उक्त झोलाभित्र अमेरिकी डलरको सट्टा कागजका बिटा मात्रै रहेको फेला परेको हो ।

अनिल नाम गरेको व्यक्ति ९ लाख नगदको झोला लिएर डलर भएको झोला थमाउनासाथ त्यहाँबाट भागेको पीडित घर्तीलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीले जानकारी दिए ।

डलर रहेको भनिएको झोलामा कागज मात्रै देखेपछि घर्तीले प्रहरीलाई खबर गरेका थिए । जग्गा खरिदको लागि ल्याएको रकम लु’टिएको भन्दै उनले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनाको अनुसन्धान र लुटेराको खोजीमा जुटेको थियो ।

पीडित घर्तीको भनाइमा प्रहरी विश्वस्त नभएपछि प्रहरीले उनलाई र उनीसँगै आएका पदम घर्तीलाई केरकार सुरु गर्यो । अनुसन्धान गर्दै जादाँ उनीहरु दुवैजना नेपाली रकमसँग डलर साट्न खैरहनी आएको खुलेको प्रहरी निरीक्षक घर्तीले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको र ठगी गर्नेहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।स्रोतः स्वदेशनेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*