पेट्रोलियम पदार्थ बोकेका ६९ वटा ट्यांकर भारतीय भूमिमा रोकिए
नेपालका पेट्रोलिम पदार्थ ढुवानीकर्ताले भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर आएका ६९ वटा ट्यांकर नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी)को भारतीय भूमि रोकिएका छन्।
नेपालका पेट्रोलियम ढुवानीकर्तासँग इण्डियन आयल कर्पोरेशनका मानिसले भन्सार पास गराउँदा अनाधिकृत रकम लिन थालेपछि ती ट्यांकर आइसिपीको भारतीय भूमिमा नै रोकिएका हुन्। ‘इण्डियन आयल कर्पोरेशनसँग भएको सम्झौताअनुसार आइसिपीबाट उसैले नियुक्त गरेका मानिसले विनापैसा ट्यांकर पास गराउनु पर्ने सम्झौता छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ पर्साका उपाध्यक्ष विनोद मानन्धरले भने।
तर, अनाधिकृतरूपमा प्रतिट्यांकर १ हजार आइसी रकम लिन थालेपछि नेपाली ढुवानीकर्ताले त्यसको छिनोफानो नहुन्जेलसम्म पेट्रोलियम पदार्थ ढुवानी गरी ल्याएका गाडी छुटाउन नसकिने उनको भनाइ छ। शुक्रबार र शनिबारका सबै ट्यांकर उतै रोकिएको पेट्रोलियम ढुवानी व्यवसायीहरूले बताए।
नेपाली पेट्रोलियम ढुवानी व्यवसायीहरूसँग के कारणले त्यो रकम लिएको हो भनी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोज दास, मध्यमाञ्चल पेट्रोलियम युवानी व्यवसायी संघ हेटौँडाका अध्यक्ष दीपक शिवाकोटी र नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख रामप्रसाद न्यौपानेसहितका मानिस त्यहाँ पुगी कुरा गर्दा त्यहाँ कर्पोरेशनका प्रतिनीधिहरूले उल्टै अभद्र व्यवहार गरेको पनि नेपाली व्यवसायीको आरोप छ।
अब नेपाल आयल निगमले त्यो रकमबारे व्यवसायीले तिर्नु पर्ने होरहोइन निक्र्योल गरेपछि मात्र हामी गाडी ल्याउँछौँ। चाँडो गाडी पास गराइदिएपछि खुसीले मायाले चालक तथा सहचालकले सय पचास दिनु अलग कुरा हो। तर मलाई यति नै चाहिन्छ भनै मानिस लगाएर जबरजस्ती रकम लिनु उपयुक्त होइन, एक नेपाली व्यवसायीले भने।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख न्यौपाने अहिले भारतको रक्सौलमा भएको इण्डियन आयल कर्पोरेशनमा नेपाली पेट्रोलियम व्यवसायीहरूको समस्याका सन्दर्भमा कुरा गर्न गएको कार्यालयले जनाएको छ।
त्यहाँका अधिकारीको भनाइअनुसार नेपाल आयल निगमले के गर्ने भन्ने पछि बताउने क्षेत्रीय आयल निगम वीरगन्ज कार्यालयका कर्मचारीले बताएका छन्। स्रोतः थाहाखबर