अवैध चाँदीका गहना सहित एक पक्राउ
मकवानपुर प्रहरीले अवैध चाँदीका गहना सहित एक जनालाई पक्राउ गरेकोे छ । हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अवैध चाँदीका गरगहना सहित एक जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा बाग्लुङ्ग जैमिनी नगरपालिका–७ बस्ने ३६ बर्षका कृष्ण रसाईली रहेका छन् । रसाईलीलाई हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी स्थित सडकमा शंकास्पद रुपमा झोला बोकी हिडीरहेको अवस्थामा चेकजाँचका क्रममा भंसार छलि गरी लुकाइ छिपाई ल्याइएको १ लाख ७७ हजार १ सय ४३ रुपैया बराबरको चाँदीका गहना सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
प्रहरीले चेकजाँचका क्रममा रसाईलीको साथबाट चाँदीको औंठी ६७ थान, बच्चाका बाला १ सय ५७ थान, ब्रासलेट १७ थान, चाँदीका मुर्ती ५७ थान सहित अन्य २ किलो ४६० ग्रामका चाँदीका गहना बरामद गरेको छ ।
आवश्यक अनुसन्धानका तथा कारवाहीका लागि बरामद गरीएको गहना भंसार कार्यालय बिरगंज पठाइएको प्रहरीले जनाएको छ ।