नेपालमा कोरोना भाईरस भित्रिए एकै महिनामा १५ सयमा संक्रमित हुने
कोरोना भाइरसका उत्पन्न भएको तरंग रोकथामका लागि नेपालमा भएको तयारी र कारोना कै कारण भारतले गरेको सिमानाका बन्दको विषयलाई आजका दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।
आजको नयाँ पत्रिकाले चीन र कोरियासहित कोरोना प्रभावित देशबाट निर्बाध उडान शीर्षकमा मुख्य समाचार छापेको छ । चीन र दक्षिण कोरियालगायत कोरोना प्रभावित देशबाट अहिले पनि दैनिक ४४ उडान हुने गरेको छ । कोरोना प्रभावित देशबाट दैनिक ३ हजार यात्रु आइराखेका छन् भने २ हजार यात्रु बाहिर गइराखेको समाचारमा उल्लेख छ ।
यसरी आउनेमा धेरैजसो विदेशी पर्यटक र थोरै नेपाली रहेका छन् । शुक्रबामात्रै नेपाल आएका मध्ये ७ सय विदेशी रहेका छन् । जसबाट कोरोनाको जोखिम बढेको छ ।
यस्तै नेपालमा कोरोना भित्रिए पहिलो महिना १५ सय संक्रमित हुने अनुमानका आधारमा सरकारले तयारी थालेको विषयलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार कम र धेरै संक्रमण भएका मुलुकको अवस्था अध्ययन गरेर यस्तो कार्ययोजना बनाइएको हो । भियतनाम, मलेसिया, श्रीलंका, थाइल्यान्डमा कोरोना संक्रमण तीव्र रूपमा बढेको छैन ।
तर, इरान, इटाली, दक्षिण कोरियामा एक्कासि बढेको छ । इटाली र इरानकै गतिमा नेपालमा संक्रमण भयो भने पनि महिनामा १५ सय मात्रै संक्रमित हुन्छन् । यही आधारमा सरकारले तयारी गरिरहेको श्रेष्ठको भनाइ उधृत गर्दै नयाँ पत्रिकाले लेखेको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार १५ सय लक्षित कार्ययोजना नेपाल सरकार एक्लैले बनाएको होइन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अन्य देशमा देखिएको संक्रमण अध्ययनका आधारमा नेपाललाई १५ सय के’सका लागि तयार रहन आग्रह गरेको थियो ।
आजको अन्नपूर्ण पोस्ट्ले कोरोना विरुद्ध कसरी लड्ने भन्ने रणनीति बनाउन आज सार्क राष्ट्रका सरकार प्रमुखहरुबीच भिडियो वार्तामा हुन लागेको विषयलाई मुख्य समाचार बनाएको छ।
करिब शून्य अवस्थामा रहेको सार्कलाई ब्युँताउने रणनीतिका रुपमा पनि यो भिभियो वार्तालाई हेरिएको समाचारमा उल्लेख छ ।
कोरोनाको त्रासका कारण एसईई रोक्ने बहस चलिराखेका बेला शिक्षाविद्हरुले रोक्न नहुनेमा जोड दिएको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ ।
शिक्षाविद्हरुले बरु चौरमै बसेर परिक्षा दिन लगाएर भएपनि एसईई भने समयमै गराउनु पर्नेमा जोड दिएका छन् । स्रोतः स्वदेशनेपाल











