स्रोत नखुलेको १२ लाख ३६ हजारसहित दुई भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १२ लाख ३६ हजार नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । वीरगञ्ज औधोगिक करिडोरको जितपुर क्षेत्रबाट शसस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प जितपुरले भारतको रघुनाथपुर बस्ने इनामोल मियाँ र सोही ठेगानाका इशर आलमलाई बिआर ०५ जेट १३८३ नम्बरको भारतीय मोटरसाइकलको डब्बामा लुकाइछिपाइ नेपाल ल्याइरहेको अवस्थामा उक्त परिणामको रकमसहित पक्राउ गरेको हो।
नेपाल भारत सीमा नाकाबाट बारातर्फ आउँदै गरेको विशेष सुचनाको आधारमा पच्छ्याउदै जाने क्रममा रकमसहित उनीहरुलाई पक्राउ गरिएको शसस्त्र प्रहरी निरीक्षक डिलेन्द्र खत्रीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका दुवै भारतीय नागरिक, १२ लाख ३६ हजार नेपाली रुपैयाँ र भारतीय नम्बर प्लेटको मोटरसाइकलाई आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
खत्रीले भने ‘श्रोत नखुलेको १० लाखभन्दा बढीको रकमको अनुसन्धान र कारवाही प्रहरीले गर्न नमिल्ने भएकोले हामीले भारतीय नागरिकसहित रुपैयाँ र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालय बुझायौँ’ । बैकिङ कारोबार देखाउन नमिल्ने भएपछि श्रोत नखुलेको सो रकम भारतीय नागरिकले तस्करीको आम्दानीबाट ल्याएका हुनुसक्ने प्रहरीले जनाएको छ ।