मास्क बेचेर अढाई करोड नाफा कमाउने दाउ तुहियो
काठमाडौंको दुई स्थानबाट १० लाखभन्दा बढी मास्क बरामद भएको छ । गोदाममै छापा मारेर ८ लाख ४० हजार मास्क बरामद गरेको प्रहरीले जनाएको छ । राजधानीको सतुंगलमा आरडिजी इन्टरनेसनल नामक सप्लाई कम्पनीले गोदाममा राखेको उक्त परिमाणको मास्क बरामद गरेको हो।
राजधानीको कपनबाट एक लाख ६८ हजार मास्कसहित पक्राउ परेका दुई जनाको बयानलाई पछ्याउँदै प्रहरी गोदाममा पुगेको थियो । प्रहरीले आफु ग्राहक बनेर ती व्यक्तिसम्म पुगेको थियो।
प्रहरीले यस घटनामा संलग पाँचजनालाई पक्राउ गरेको छ । ओखलढुंगाका ३० वर्षीय टेकराम श्रेष्ठ, बाराका ३४ वर्षीय सन्जय रेग्मी, चितवनका २६ वर्षीय अजिम बक्स मिया र आरडिजी इन्टरनेसनलका सन्चालकद्धय २३ वर्षीय सुरज गोयल र ३७ वर्षीय सुबास महेश्वरीलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ परिसर प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार ‘केही दिन अघि मात्र उनिहरुले एक ट्रक मास्क बजारमा पुर्याइसकेको जानकारी पाएका छौँ। अहिले गोदामबाट मात्र एक करोड मास्क बरामद भएको छ’ ।
प्रहरीले ३ रुपैयाँ २५ पैसा पर्ने मास्कलाई कालोबजारी गरेर ३१ रुपैयाँमा बेचिरहेको आरोप लगाएको छ । ‘एक ट्रक मास्क बेच्दा अढाई करोडभन्दा बढी नाफा हुने रहेछ’, उनले भने। प्रहरीले ती मास्क चीनबाट ल्याइएको भएपनि कहिले नेपाल भित्रिएकोबारे अनुसन्धान भइरहेको जनाएको छ।











