दुर्घटनापछि चितवन तनावग्रस्त, प्रहरी परिचालन

चितवनको भरतपुरमा ट्रकको ठक्करबाट भरतपुर महानगरपालिका–७ कृष्णपुरकी ३५ वर्षीया लक्ष्मी सुवेदीको ज्यान गएको छ । विपी कोइराला क्यान्सर अस्पताल नजिक सडक खण्डमा ट्रकको ठक्करबाट महिलाको ज्यान गएपछि आक्रोशितहरुले सडक अबरुद्ध गरेपछि सो क्षेत्रमा तनाव श्रृजना भएको छ ।
आज विहान करीब ६ बजे चौविसकोठीबाट गीतानगरतर्फ गइरहेको ना ७ ख ४०९१ नम्बरको मालबाहक ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी सुवेदीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रकका फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।