चितुवा आक्रमणबाट २१ महिने बालिका गम्भीर घाईते
तनहुँमा चितुवाको आक्रमणबाट २१ महिने बालिका गम्भीर घाईते भएकी छिन् । शुक्ला गण्डकी नगरपालिका– ३ बनकेवा बस्ने नारायण न्यौपानेको २१ महिनाको छोरी संकृति न्यौपानेलाई आफ्नै घरमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी गम्भीर घाईते बनाएको हो ।
गम्भीर घाइते न्यौपानेको पेट र साप्रामा चितुवाले चिथोरेको छ । बालिकाको उपचारका लागि तनहुँ सेवा अस्पताल दुलैगौडा लगिएकोमा थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पोखरा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जनाएको छ ।
यसैगरी गत पुस १३ गते पनि सोहि वडाको वनकेवा रातमाटाका राजु नेपालीको २२ महिने छोरा रविन नेपालीलाई घरकै पिढीँबाट चितुवाले आक्रमण गरी लगेको थियो । भोलिपल्ट घरभन्दा एक किलोमिटर पर ढाङढुङे ठूलोपाखा श्यामपोखरी सामुदायिक वनमा बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।
चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, विक्रम संवत् २०७५ मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।
त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी९३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षीय इश्क सुनारको मृत्यु भईसकेको छ ।