सांसदको प्रस्तावः जनतालाई अनुदानमा इन्डक्सन चुल्हो 

हेटौडा न्युज
५ चैत्र २०७६, बुधबार ००:००
;

सांसदहरुले आयातित ग्यासको अभाव टार्न जनतालाई विद्युतीय चुल्होमा बानी पार्नुपर्ने बताएका छन् । यसका लागि विशेष योजना ल्याउन सरकारसँग उनीहरुको आग्रह छ ।

उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति बैठकमा कोरोना त्रासले आपूर्ती व्यवस्थामा पारेको प्रभावबारे छलफल भएको थियो ।

छलफलमा सांसद बिन्दा पाण्डेले संकटलाई अवसरको रुपमा परिणत गरिनु पर्ने बताइन् । ‘तत्कालको संकट ग्यासमा देखिएको छ, यसलाई विद्युतीय चुल्हो इन्डक्सन प्रयोगमार्फत चिरौँ,’ सांसद पाण्डेले भनिन्, ‘मुलुकमा प्रशस्त मात्रामा बिजुली उत्पादन भएकाले ग्यासको लुछाचुँडीमा लाग्न भन्दा इन्डक्सनतर्फ जनतालाई बानी पार्नुपर्छ ।’

अर्की सांसद मायादेवी न्यौपानेले जनतालाई इन्डक्सन चुल्होमा अनुदान दिनुपर्ने भन्दै यसका लागि सांसदहरुले एक महिनाको तलब सरकारलाई दिन प्रस्ताव गरिन् । ‘जनतालाई राहत चाहिएको छ, इन्डक्सनको मूल्य धेरै रहेछ, म एक महिनाको तलब दिन तयार छु, हामी सबैले एक महिनाको तलब नलिने प्रण गरौं,’ उनले भनिन् ।

सांसद न्यौपानेले स्थानीय तहसँग समन्वय गरेर देशैभर वडा स्तरबाट इन्डक्सन चुल्हो बाँड्ने संयन्त्र बनाउन उद्योग मन्त्रीलाई सल्लाह दिइन् ।

अर्की सांसद सुजाता परियारले संकटका बेला एक नेपालीले अर्को नेपालीलाई ठग्ने काम भएको भन्दै बजार अनुगमन र कारबाही प्रभावकारी बनाउन आग्रह गरिन् ।

सांसद भिमसेनदास प्रधानले संसदीय समितिका बैठक, भेला जस्ता धेरै मानिस जम्मा हुने कार्यक्रममा तत्काल रोक लगाउनु पर्ने माग गरे । बजार अनुगमन प्रभावकारी नभएको भन्दै उनले जनतालाई ढुक्क हुने वातावण बनाउन सबैजना एक हुनु पर्नेमा जोड दिए ।

कोरोनाका कारण संकटोन्मुख अवस्थामा सरकार र प्रतिपक्ष एकजुट भएर काम गर्नु पर्नेमा सांसद प्रकाश रसाईलीले जोड दिए ।

सांसद सोमप्रसाद पाण्डेले कोरोना परीक्षण ल्याबहरु देशब्यापी रुपमा थप्न जरुरी रहेको बताए भने सांसद दिलुकुमारीले मास्क तथा औषधीको सहुलियत पसल राख्नु पर्ने धारणा राखिन् ।

सांसदहरुको प्रश्नको जवाफ दिँदै उद्योग वाािण्ज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाबाट बच्ने पूर्वतयारी सरकारले युद्ध स्तरमा गरिरहेको दाबी गरे ।

‘मास्क, औषधी, खाद्यन्न तथा इन्धनको आपूर्तिमा भएको असहजता चिर्न सिंगो मन्त्रालय विभाग तथा कार्यालय चौबीसै घण्टा खटिएका छन्स’ मन्त्री भट्टले भने ।

मन्त्रालय तथा विभागमार्फत बजार अनुगमनलाई तिब्रता दिइएको भन्दै उनले केही समयमै बजारमा आपूर्ति व्यवस्था सामान्य बन्ने बताए । कालोबजारीबारे सरकारका सबै निकायमा सूचना दिन उपभोक्तालाई आग्रह गर्दै मन्त्री भट्टले बदमासी गर्ने कसैलाई नछोड्ने चेतावनी दिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन गरिने पनि उनले जानकारी दिए । केही दिनमै सञ्चालनमा आउने पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुने मन्त्री भट्टले बताए ।

स्रोतः अनलाइन खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*