जनप्रतिनिधिको विवाद कारण पालिकाको बजेट ९ महिना पछि पास

हेटौडा न्युज
५ चैत्र २०७६, बुधबार १८:१५
;

जनप्रतिनिधिहरुको आपसी विवादको कारण साउन महिनाबाट कार्यान्वयनमा आउनु पर्ने गाउँपालिकाको बजेट तथा कार्यक्रम ९ महिना पछि पास भएको छ । 

रामेछापको लिखु तामाकोसी गाउँपालिका असार महिनामै पास गरेर साउन महिनाबाट कार्यान्वयन गर्नु पर्ने बजेट आर्थिक बर्षको लगभग अन्त तिर आएर पास गरेको हो । 

जनप्रतिनिधिहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि गाउँपालिकाको सम्पूर्ण विकासको काम ८ महिनासम्म रोकिने गरी बजेट पास गर्न ढिलाइ गरेका हुन् ।

जनप्रतिनिधिहरुको विबादका कारण ८ महिनासम्म पालिकाको सम्पूर्ण काम नै ठप्प भएको थियो ।

विद्युतीकरणमा गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले अनियमितता गरेको विषयलाई लिएर सुरु भएको विवादले ८ महिना सम्म पालिकाको काम नै बन्द गरेको हो ।

नेकपाले पार्टीबाट विजयी भएका अध्यक्ष खड्का पार्टीको गतिविधिविरुद्ध काम गरेको भन्दै पार्टीबाट समेत निलम्बनमा परेका थिए । लामो समयसम्म पनि विवाद समाधान नभएपछि नेकपा बागमती प्रदेश कार्यालयको बैठकले विवाद समाधान गर्न समिति बनायो ।

समितिमा नेकपा रामेछापका सचिव एवम् बागमती प्रदेशका सांसद शान्ति पौडेल र नेकपा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष सदस्य रहेका थिए ।

विवाद समाधान समितिको पहलबाट गाउँपालिकाको बैठक राखी ०७६ चैत २ गते गाउँ सभाबाट बजेट तथा कार्यक्रम पास गरिएको हो ।

गाउँपालिकाको बजेट आर्थिक वर्षको बजेट कार्यान्वयनको समय २ महिना मात्र बाँकी हुँदा पास भएको छ । यसले पालिकामा रहेका कर्मचारीहरुलाई तलब खाने बाटो फुके पनि विकासका काममा थप अनियमितता हुने डर बढेको स्थानीयको गुनासो छ । १० महिनामा गर्नु पर्ने विकासको काम २ महिनामा सक्ने गरी जनप्रतिनिधिहरु लागि परेका छन् ।

गाउँपालिकाको सभाले यस आर्थिक वर्षको लागि ५३ करोड ७४ लाख ६१ हजार ५६१ रुपैयाँको बजेट पारित गरेको छ । बजेट पास नहुँदा साउन महिनादेखि पालिकाका कर्मचारी, शिक्षकलगायतका स्थायी कर्मचारीहरुले दशैंयताको तलब समेत पाएका थिएनन् ।

विद्यार्थीहरुको छात्रावृत्ति, खाजाको रकम, सामाजिक सुरक्षा भत्तालगायतको रकमसमेत विवादको कारण वितरण हुन सकेको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*