कृषिबालीमा नाफा हुने गरी मुल्य तोक्ने, नबिके सरकारले किनिदिने कृषिमन्त्रीको घोषणा
किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको समर्थन मूल्य तोक्ने कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले घोषण गरेको छ । बुधबार आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित बचतको ग्यारेन्टी हुने गरी न्युनतम समर्थन मूल्य तोक्ने बताएका हुन् । सरकारले तोकेको मूल्यमा किसानले बजारमा कृषि वस्तु बेच्न सक्ने र यदि बिक्री नभएमा सरकारले किनिदिने मन्त्री भुसालले बताएका छन् । उनले नगदेबालीमा २५ प्रतिशत नाफा सुनिश्चित गर्ने पनि बताए ।
मन्त्री भुसालले यसअघिको अनुदानमा प्रणालीमा सुधार गरी सबै किसानले पाउने गरी मल, बीऊ, सिञ्चाई र विजुलीमा अनुदान दिने बताएका छन् ।
मन्त्री भुसालले हरेक किसानलाई ५ प्रतिशत ब्याजदर नबढ्ने गरी कृषि ऋणको व्यवस्था गर्ने पनि घोषणा गरेका छन् ।
मन्त्री भुसालले आफ्नो नीतिले दलाल पुँजीबाद हावी रहेको कृषि क्षेत्रमा धक्का दिने बताएका छन् ।











