सरकारद्वारा चलचित्र हल बन्द, २५ भन्दा बढी मानिस भेला हुन नपाइने
कोरोना भाइरसको संक्रमणको जोखिम भएको भन्दै सरकारले चलचित्र हल बन्द गर्ने निर्णय गरेको छ ।
बुधवार सिंहदरबारमा बसेको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समिति बैठकले बैशाख १८ गते चलचित्र हलहरु बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले चलचित्र हलसँगै सांस्कृतिक केन्द्रहरु, रंगशाला, कला तथा मनोरञ्जन स्थल पनि बन्द गर्ने निर्णय गरेको छ । साथै सरकारले यसको अनुगमन गर्न गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने जनाएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले २५ जनाभन्दा बढी मानिसहरू भेला हुन नपाइने पनि जनाएको छ ।
यो निर्णयले नेपाली फिल्म क्षेत्रमा प्रभाव ठुलै प्रभाव पर्ने भएको छ । यसअघि सरकारले दर्शकलाई फिल्म हलमा नजान आह्वान गरेको थियो । हलवालाले भने उचित सुरक्षा अपनाएको भन्दै फिल्म प्रदर्शन गर्दै आएका थिए ।
पछिल्लो समय कोरोना भाइरस संक्रमणको भयले फिल्म हलमा दर्शकको उपस्थिति निकै पातलिएको थियो । कोरोना भाइरसका कारण विदेशी फिल्म र नेपाली फिल्म म यस्तो गीत गाउँछु २ र नीरफूलको प्रदर्शन नै स्थगित भइसकेको छ ।
अउँदै गरेको फिल्म प्रेमगीत ३, लक्का जवान, चपली हाइट ३ लगायतकाको भने रिलिज स्वतः स्थगित हुने भएको छ ।