कोरोनाको प्रभावः मनकामना मन्दिरको केवलकार बन्द
कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै मनकामना मन्दिरको केवलकार चैत ८ गतेदेखि बन्द हुने भएको छ । चैत मसान्तसम्म केवलकार बन्द गर्ने निर्णय भएको केवलकार शनिबारदेखि बन्द गर्न लागिएको केवलकार सञ्चालक मनकामना दर्शन प्रालिले जनाएको छ ।
सरकारले विद्यालय र क्याम्पसहरु चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेअनुसार त्यही अवधिसम्म केवलकार बन्द गरिने प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जनाएको छ
केवलकार बन्द हुने अवधिभर कर्मचारीहरुलाई बिदा दिइने कायस्थले जनाएको छ । अहिले मनकामना केवलकारमा ८४ जना कर्मचारी कार्यरत छन् ।
२२ दिन केवलकार बन्द हुँदा करिब ५ करोड बराबरको नोक्सानी हुने कायस्थले जनाएको छ ।