कोरोनाको त्रासः १२ घण्टामा ९० हजारले छाडे काठमाडौँ
सरकारले बुधबार कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएलगत्तै राजधानीबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । सरकारले एक महिनाको लािग स्कुल, कलेज बन्द गर्न निर्देशन दिएको हो ।
पछिल्लो समय विश्वभरी कोरोना भाइरसको सन्त्रास छ । एक महिना स्कुल, कलेज बन्द भएपछि अध्ययनका लागि काठमाडौँ बस्ने विद्यार्थीहरु धमाधम घर फर्किन लागेका छन् । त्यस्तै रोजगारीका क्रममा काठमाडौँ बस्ने अभिभावकहरु पनि कोरोना त्रासले छोराछोरीलाई लिएर गाँउ फर्किन लागेका हुन् ।
अचानक स्कुल, कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेपछि बसपार्कमा भिड बढेको छ । काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।
बिहीबार मात्र (१२ घण्टा) मा काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या ९० हजार २०४ जना रहेको छ । १६ हजार ८२४ सवारी साधन काठमाडौँ उपत्यकाबाट बाहिरिएको थियो ।
यस्तै १३ हजार ४५२ सवारी साधनमा ५६ हजार ९२५ जना काठमाडौँ उपत्यका भित्रिएका छन् । बुधबार र बिहाीबार झण्डै १ लाख ५० हजारभन्दा बढि यात्रुले काठमाडौँ उपत्यका छाडेको एसएसपी ढकालले बताए । शुक्रबार (आज) अझ बढ्ने अनुमान गरिएको उनले बताए ।
ट्राफिक व्यवस्थापनमा कुनै समस्या नहुने एसएसपी ढकालको भनाइ छ । उनले भने, ‘बिहीबार अचानक यात्रुहरु बाहिरिनेको संख्या बढ्यो । बसपार्कदेखि नाकासम्म चनाखो छौं ।’ त्यस्तै एसएसपी ढकालले सिट संख्याभन्दा धेरै यात्रु नचढाउन र सवारी साधनको सरसफाइमा विशेष ध्यान दिन सवारीसाधन धनीलाई निर्देशन दिएको बताए ।
यात्रुहरु नागढुङ्गा, जगाती, फर्पिङ साँखु र मुड्खु नाकाबाट आफ्नो गाउँतिर गएका छन् ।
बिहीबार कुन नाकाबाट कति बाहिरिए, भित्रिए ? (सूचीसहित)
नागढुङ्गा नाका
बाहिरिने सवारी साधन – ३२४५
भित्रिने सवारी साधन – ३३०७
बाहिरिने यात्रु – २५२३६
भित्रिने यात्रु – १७६९०
भक्तपुर नाका
बाहिरिने सवारी साधन – १२६४५
भित्रिने सवारी साधन – ९३८६
बाहिरिने यात्रु – ५८८४०
भित्रिने यात्रु – ३४७३४
मुड्खु नाका
बाहिरिने सवारी साधन – १६५
भित्रिने सवारी साधन – १७७
बाहिरिने यात्रु – ८५८
भित्रिने यात्रु – ८०१
साँखु नाका
बाहिरिने सवारी साधन – ५४
भित्रिने सवारी साधन – ४८
बाहिरिने यात्रु – ६९९
भित्रिने यात्रु – ५६५
फर्पिङ नाका
बाहिरिने सवारी साधन – ७१५
भित्रिने सवारी साधन – ५३४
बाहिरिने यात्रु – ४५७१
भित्रिने यात्रु – ३१३५
स्रोतः रातोपाटी