कोरोना भाईरसको संक्रमणबाट चिनमा भन्दा इटालीमा धेरैको मृत्यु
कोरोनाभाइरस संक्रमितको मृत्युको सन्दर्भमा इटालीले चीनलाई उछिनेको छ । समाचार एजेन्सीहरुका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । चीनमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तुलनामा यो संख्या १५६ ले बढी हो ।
इटालीको नागरिक सुरक्षा एजेन्सीका अनुसार इटालीमा कोरोना संक्रमितको संख्या ४१ हजार ३५ पुगेको छ । तीमध्ये ५ हजार ३ सय २२ नयाँ संक्रमित रहेको बताइएको छ ।
चीनमा भने पछिल्लो समय नयाँ संक्रमितको संख्या शुन्य भएको छ । लगातार दोस्रो दिन चीनमा नयाँ संक्रमित नदेखिएको हो । चीनमा कोरोनाको फैलावट पूर्ण रुपमा नियन्त्रणमा आए पनि विदेशबाट आएकाहरुमा भने संक्रमण पाइएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । एजेन्सी