अब विवाहको तयारी गर्छु भन्ने शसस्त्र प्रहरी जवानले किन गरे आत्महत्या ?
बारामा एक शसस्त्र प्रहरी जवानले आत्महत्या गरेका छन् । पथलैयास्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत एक जवानले ब्यारेकभित्रै आत्महत्या गरेका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–२ नरबस्तीका २७ वर्षीय बिमल भण्डारीले ब्यारेकभित्र बिहीबार राति झुण्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
गुल्मका डिएसपी गोविन्द पुरीले ब्यारेकका सुरक्षाकर्मीले शुक्रबार बिहान भण्डारीलाई झुण्डिरहेको अवस्थामा देखेको जानकारी दिए ।
स्नातकसम्मको अध्ययन पुरा गरेका भण्डारी सशस्त्र प्रहरी सहायक निरीक्षक र निरीक्षक दुबै पदमा परीक्षा दिएर बसेको बुझिएको छ । परीक्षासमेत राम्रै भएको र अब विवाहको तयारीसमेत गर्नुपर्यो भनेर साथीहरुसँग कुरा गर्दै आएका भण्डारीले के कारणले आत्महत्या गरे भन्ने बारेमा नखुलेको पुरीले बताए ।
भण्डारी सात वर्षअघि सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए । घटनाबारे अनुसन्धान भैरहेको बारा प्रहरीले जनाएको छ।