हेटौंडाको आपतकालीन केन्द्रमा कोरोना नियन्त्रण समितिको सचिवालय
बाग्मती प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि पुर्व तयारीको कामलाई तिब्रता दिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न बागमती प्रदेश सरकारले विभिन्न काम गर्दै आइरहेको छ ।
शुक्रबार हेटौडामा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको प्रदेशस्तरीय कोरोना नियन्त्रण समितिको बैठकले हेटौडास्थित आपतकालीन केन्द्रलाई समितिको सचिवालयको रुपमा विकास गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले सचिवालय निर्माणका लागि तत्काल आवश्यक सामाग्री उपलब्ध गराउने र सम्पुर्ण काम सचिवालय मार्फत गर्ने तयारी गरेको छ । सचिवालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रतिनिधि रहने र सचिवालयलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने निर्णय गरिएको छ ।
बैठकले आजै (शुक्रबार) कोरोनासँग सम्बन्धित सूचना संकलन गर्न फरम्याट तयारी गरी प्रदेशका १३ वटै जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी समेत गरेको जानकारी दिइएको छ ।
सवारी साधनमा आवत जावत गर्नेहरुको हकमा १३ वटै जिल्लामा सुरक्षा निकायले निगरानी राख्ने, सवारी साधन रोकिने ठाउँमा सहायता डेक्स स्थापना गरीने, विदेशी नागरिक र विदेशबाट फर्केको नेपाली नागरिकको पनि अभिलेख राख्न राख्ने जस्ता निर्णय गरेको छ ।
प्रत्येक जिल्लामा बिहान बेलुका माइकिङ गरी कोरोनाका बारेमा जनचेतना फैलाउने तथा बिद्यालय तथा बिश्वबिद्यालय विदा भएपछि काठमाडौ उपत्यकाबाट अन्य जिल्लामा जानेहरुमा हुन सक्ने संक्रमणका बारेमा निगरानी बढाउने निर्णय भएको समितिले जनाएको छ ।