परिस्थितिको फाइदा उठाउँदै दोब्बर भाडा असुली, चार दिनमा साढे ३ लाखले काठमाडौं छोडे
कोरोनाको सन्त्रास फैलिएपछि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्दै गएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार मंगलबार ५९ हजार ८१६ जना मानिसहरू उपत्यकाबाट बाहिरिएका छन् ।
बुधबार ८५ हजार ४४७ जना मानिसले उपत्यका छोडेका थिए । बिहीबार १ लाख ८ हजार मानिस उपत्यकाबाट बाहिरिएका छन् । शुक्रवार अन्य दिनको तुलनामा काठमाडौं बाट बाहिरिने मानिसको संख्या बढेको छ । शुक्रबार दिनभरमा राजधानीबाट बाहिरिने विभिन्न नाका हुँदै ९८ हजार ५१७ जना यात्रु बाहिरिएका छन् ।
यसरी मंगलवबरदेखि शुक्रवार सम्मको तथ्यांक हेर्दा ३ लाख५१ हजार ठ सय ८० जना मानिसहरू उपत्यकाबाट बाहिरिएका छन् । पछिल्लो समय विश्वभरी कोरोना भाइरसको सन्त्रास छ । एक महिना स्कुल, कलेज बन्द भएपछि अध्ययनका लागि काठमाडौँ बस्ने विद्यार्थीहरु धमाधम घर फर्किन लागेका छन् । त्यस्तै रोजगारीका क्रममा काठमाडौँ बस्ने अभिभावकहरु पनि कोरोना त्रासले छोराछोरीलाई लिएर गाँउ फर्किन लागेका हुन् ।
अचानक स्कुल, कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेपछि बसपार्कमा भीड बढेको छ । शुक्रबार काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो।
यस्तो अवस्थामा आफू सुरक्षित हुनको लागि गाउँ फर्किन लागेका मानिसहरुलाई सहजै गन्तव्यसम्म पुग्न कठिनाइ भइरहेको छ ।
त्यसमाथि तोकिएको भन्दा बढी भाडा असुलिएको एक यात्रु भरत सिग्देलले गुनासो गरे । शुक्रबार काठमाडौंबाट नुवाकोटको केउरेनी सम्म जानको लागि लाग्ने भन्दा दोब्बर भाडा असुलिएको नुवाकोटको तारकेश्वरस्थित श्रीकृष्ण तारुका क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका उनले गुनासो गरे । स्रोतः स्वदेशनेपाल