‘नराम्रो सुनिएला तर कोरोना संक्रमित आए अस्पतालमा भागाभाग हुने स्थिति छ’

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार १८:३१
;

विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि सरकारले एकपछि अर्को निर्णय गर्दैछ । आवात जावतमा रोक लगाउनेदेखि क्वारेन्टाइन स्थल, आईसीयू बेडहरु बनाउने निर्णय भएको छ । र, सरकारले २/४ हजार संक्रमित देखिए पनि महामारीका रुपमा फैलिन नदिने गरी काम भइरहेको बताएको छ ।

तर त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर (आईसीयू) विभाग प्रमुख डा. सुवास आचार्य सरकारको पूर्व तयारीप्रति सन्तुष्ट छैनन् । अस्पताल आधारित तयारीमा ससाना तर महत्वपूर्ण तयारी नगरेर सबैले आईसीयूमा मात्र जोड दिएको भन्दै आचार्य भन्छन्, ‘सत्य बोल्दा नराम्रो सुनिएला, तर यही अवस्था रहिरह्यो भने भयावह अवस्था आउँछ । कोही कोरोना संक्रमित आए स्वास्थ्यकर्मीहरुको भागाभाग हुने स्थिति हुन्छ ।’

प्रस्तुत छ, डा. आचार्यसँग गरेको कुराकानी:

विश्वभर कोरोनाको त्रास बढिरहँदा तपाईंले नेपालको तयारी कस्तो देख्नु भएको छ ?

अहिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनालाई विश्वव्यापी महामारी भनेर घोषणा गरेको छ । संक्रमणको दर र अन्य देशमा फैलिने क्रम बढ्दो छ । इटाली र अमेरिका जस्ता देशहरुले यसलाई नियन्त्रण गर्न सकेका छैनन् । जनशक्ति र उपकरणहरु धान्ने अवस्थामा छैनन् । ती देशहरुमा तयारी नपुगेको प्रष्ट देखिन्छ ।

यो सब देख्दादेख्दै हाम्रो देशमा कोरोना संक्रमण भएको छैन भनेर चुप लागेर बस्ने अवस्था छैन । जति नै तयारी गरेपनि यस्तो महामारीको बेला पर्याप्त हुन्न । त्यसैले हामी सबैभन्दा बढी डराउनु पर्ने अवस्थामा छौं ।

सरकारको अधिकांश निकाय अहिले पूर्वतयारीमै जुटेको देखिन्छ, यो सक्रियता देख्दादेख्दै हामी डराउनु पर्ने अवस्था छ र ?

बाहिरबाट हेर्दा सरकारले निकै सक्रियता देखाएको देखिन्छ । दिनहुँ मिटिङ भइरहेको छ । अनेकौं निर्णय भइरहेका छन् । एकपछि अर्को निर्णय गर्नु सकारात्मक हो ।

तर मुख्य समस्या भनेको सबै निर्णय कागजमै सीमित भयो । र, हामी ढुक्क हुने भनेको कोरोना संक्रमण नहुञ्जेल मात्रै हो ।

संक्रमण देखियो भने हामीले केही तयारी गरेको रहेनछौं भन्ने अवस्था आउँछ । किनकी जे जति निर्णय गरेपनि संक्रमण फैलिएको देशबाट आएकाहरु कहाँ के गर्दैछन् भन्ने समेत सरकारलाई थाहा छैन । जबकी उनीहरुलाई त क्वारेण्टाइनमा राख्नु पर्ने हो, बाहिर हिँडडुलमा प्रतिबन्ध लाउनु पर्ने हो । तर विदेशबाट आएकाहरु यसरी हिँडडुल गर्दा कसैले भाइरस सार्‍यो भने अवस्था कस्तो होला भनेर अहिले नै रोक्नुपर्ने हो । तर त्यो केही भएको देख्दिनँ ।

यो अवस्थामा हुनुपर्ने के थियो र के भइरहेको छ ?

म एउटा उदाहरण दिन्छु, कसैलाई ज्वरो र रुघाखोकी देखियो भने त्यो बिरामी कहाँ जाने ? अहिलेसम्म कहाँ र कसरी जाने एकिन छैन ।

सरकारले हरेक अस्पताललाई ‘फिभर क्लिनिक’ खोल भनेको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमै हेर्नुभयो भने एउटा टेन्ट टाँगेर क्लिनिक राखिएको छ । त्यहाँ कोरोनाको आशंका भएको बिरामी पुग्यो भने त्यहाँ कार्यरत चिकित्सकले के लगाएर जाँच्ने ? ‘पर्सोनल प्रोटेक्टिभ इक्युपमेन्ट’ (पीपीई) छैन । यहाँ मात्र होइन, अन्य अस्पतालमा पनि छैन । स्वास्थ्य मन्त्रालयले पीपीई छ भन्छ भने अस्पतालहरुलाई दिनुपर्‍यो नि । छैन भने अर्को उपाय अपनाएर ल्याउनुपर्‍यो ।

सरकारले कोरोनाको लागि भनेर पाँच वटा अस्पताल निर्धारण गरेको छ । यो राम्रो निर्णय हो । तर कसैलाई संक्रमणको आशंका लाग्यो भने अस्पतालसम्म कसरी जाने ? सार्वजनिक यातायात चढेर जाने हो ? त्यसो हुँदा त त्यो गाडीमा भएका अरु मानिसहरुलाई पनि संक्रमण सर्ने डर हुन्छ ।

कुनै व्यक्तिलाई कोरोनाको आशंका भयो भने अस्पतालसम्म कसरी जाने भनेर सरकारले प्रोटोकल बनाइसक्नुपर्थ्यो । जस्तो कि कोरोना आशंका भएका बिरामी बोक्न छुट्टै एम्बुलेन्स ‘स्ट्याण्ड बाई’ हुनुपर्थ्यो । तर हामी कहाँ अहिले पनि कसैलाई संक्रमणको आशंका भयो भने आफैं अस्पताल पुग्नुपर्छ ।

तपाईंलाई कोरोना संक्रमणको आशंका लाग्यो भने एम्बुलेन्स बोलाउन छुट्टै सम्पर्क नम्बर खोई ? एम्बुलेन्समा खटिने चालक तथा स्वास्थ्यकर्मीलाई पीपीई खोई ? अस्पताल लागिसकेपछि उनीहरुलाई छुट्टै जाँच्ने स्वास्थ्यकर्मी खोई ? एउटै डाक्टरले कोरोनाको पनि बिरामी जाँच्ने, अर्को पनि बिरामी जाँच्ने हो ? नमूना परीक्षण गर्न पठाएकाहरुलाई छुट्टै क्वारेण्टाइनमा राख्ने व्यवस्था हुनुपर्छ । क्वारेन्टाइनमा राख्दै गर्दा पनि अस्पताल चाहिने अवस्था आयो भने अस्पताल पठाउने व्यवस्था खोई ? अस्पतालमा राख्दा पनि गम्भिर अवस्था आयो भने आईसीयूमा खोई ?

हामीले काम गर्नुपर्ने यसमा थियो । तर सबैको ध्यान आईसीयूमा मात्रै भयो । कुनै पनि कोरोनाको विरामीलाई आईसीयूमा लैजानुअघि गर्नुपर्ने सुरुवाती तयारी नै भएन । अस्पताल कसरी पुग्ने ? कसरी जाँच गर्ने ? एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने भन्नेमा पूर्वतयारी गर्नुपर्‍यो ।

धेरै अस्पतालमा धेरैभन्दा धेरै आईसीयू बनाउने निर्णय कसरी बेठिक भयो त ?

पूर्वतयारीको सुरुवाती चरणको काम नगरी सीधै आईसीयूमा मात्रै जोड दिँदा कोही कोरोना संक्रमित बिरामी देखियो भने सबै अस्पतालमा भागाभाग हुन्छ । त्यो स्वाभाविक पनि हो । किनकी स्वास्थ्यकर्मीसँग पीपीई नै छैन भने ज्यान जोखिममा राखेर उसले किन उपचार गर्छ ? कम्तीमा सुरक्षा सामाग्री त चाहियो नि ।

चिकित्सकहरुलाई पीपीई दिइएन भने त उनीहरु उपचार गर्न मान्दैनन् । एम्बुलेन्स चालकले पीपीई पाएन भने संक्रमणको आशंका गरेका बिरामी बोक्न मान्दैन । किनकी युद्ध लड्न जान त हतियार चाहियो नि, लौरो बोकेर कहिँ युद्ध जितिन्छ ? हतियार नदिई राज्यले युद्धमा पठाउन नैतिकताले पनि दिँदैन ।

मानौं, तपाईं कोरोनाको संक्रमणको आशंकामा मसँग जचाउन आउनुभयो । तपाईंमा संक्रमण रहेछ, तर मैले पीपीई नलगाई जाँच गरेँ भने म मात्र होइन, मसँग जँचाउन आउने सबै बिरामीलाई पनि सर्छ । त्यसैले आईसीयू सँगसँगै अरु तयारी पनि गर्नुपर्छ भनेको हो ।

यद्यपि अहिले सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, भीडभाड कम गर्ने राम्रो निर्णय गरेको छ । दुई हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय पनि स्वागतयोग्य छ । स्वास्थ्य, खाद्यान्न र आपूर्तिबाहेक सबै बन्द गरे हुन्छ । अस्पतालमा आधारित तयारी भने अहिले पनि पुगेको छैन ।

उसो भए जुन तरिकाले तयारी गरिएको छ, त्यो भएन ?

कागजमा त भयंकर देखियो, तर कार्यान्वयन शून्य । मैले अघि नै भनेँ नि सुरुमा आशंका गरिएका बिरामीलाई अस्पतालसम्म कसरी लैजाने त्यो तयारी हुनुपर्‍यो । त्यसपछि जाँच्ने चिकित्सक र एम्बुलेन्सका चालकलाई पीपीई अनिवार्य उपलब्ध गराउनु पर्‍यो । नमूना संकलन गरेपछि आशंकित संक्रमितलाई राख्ने छुट्टै क्वारेन्टाइनस्थल हुनुपर्‍यो । क्वारेन्टाइन स्थलमा बस्दा सिकिस्त विरामीलाई राख्न पहिले अस्पताल चाहियो, अनि मात्र आईसीयू चाहिन्छ । प्रारम्भिक काम नगरी आईसीयू आईसीयू मात्र भनेर दौडिँदा कोही संक्रमित भेटिए भने यस्तै गल्तीले धेरै मानिसमा संक्रमण फैलिन सक्छ ।

धेरै अस्पतालमा उपचार गराउँदा चाहिँ के कठिनाइ हुन्छ ?

अहिले टेकु अस्पतालमा दैनिक साढे २ सय जति अन्य रोगका बिरामी जान्छन् । त्यो अस्पतालमा कोरोना संक्रमणको बिरामी राख्यो भने त्यहाँ अन्य बिरामीलाई संक्रमण हुन्न भन्ने के ग्यारेण्टी ? पाटन र वीर अस्पतालमा पनि कोरोना संक्रमणका बिरामी राख्ने तयारी छ । र, २०/२० वटा आईसीयू बनाउने भनिएको छ । तर यदि नेपालमा कोरोना भाइरस देखियो भने यो निर्णय निकै घातक हुन्छ । किनकी त्यहाँ अन्य रोगका बिरामी धेरै पुग्छन् ।

त्यसैले कोरोनाको मात्रै उपचार गर्ने छुट्टै अस्पताल बनाउनुपर्छ । मैले रातारात नयाँ अस्पताल बनाउनुपर्छ भनेको होइन । हामीसँग भएका अस्पताललका अरु बिरामी अन्यत्र सारेर त्यहाँ कोरोनाको मात्र उपचार गर्ने व्यवस्था गर्नुपर्छ । त्यसो हुँदा अन्य मानिसहरुलाई संक्रमण फैलिने डर हुँदैन । यसका लागि नेपाली सेना, प्रहरीको अस्पताल, कीर्तिपुरको आयुर्वेद अस्पताल वा अरु कुनै अस्पताल छनोट गरौं र त्यहाँ भएका विरामीलाई अन्यत्र सारौं ।

तपाईंले भनेजस्तै एउटा अस्पतालको बिरामी अर्को अस्पतालमा सारेर कोरोनाको मात्रै उपचार गराउने बनाउन व्यवहारिक होला ?

सरकारले चाह्यो भने सबै बिरामीलाई एकै दिनमा सार्न सकिन्छ । यसो गर्दा आईसीयूका बिरामीलाई अलिक गाह्रो होला । तर गर्नुपर्ने यही हो । सबै अस्पतालमा कोरोनाको बिरामी पुर्‍याउनु भनेको अर्को ठूलो दुर्घटना निम्त्याउनु हो ।

कीर्तिपुरको आयुर्वेद अस्पताल त ओपीडी मात्रै हो । त्यहाँ कोही विरामीलाई  भर्ना गरेर राखिँदैन । त्यहाँ  तीन वटा ब्लक छन् । सरकारले चाह्यो भने त्यहाँ क्वारेन्टाइन र आईसीयू बनाउन सक्छ । अन्य खाली भवन र केही मेडिकल कलेजहरुमा पनि कोरोनाको बिरामी राख्न भनेर बेडहरु थप्न सकिन्छ ।आईसीयू बेड तुरुन्तै तयार गर्न सकिन्छ ?

अहिले धेरैले नबुझेको कुरा यही हो । सबैको ध्यान आईसीयूमा छ । यो गलत हो । पाँच सय जना संक्रमित भए भने २५ जनालाई मात्रै आईसीयू चाहिन सक्छ । त्यसैले अहिले हामीले पाँच सय संक्रमितलाई कुन अस्पतालमा राख्ने, कसरी अस्पतालसम्म पुर्‍याउने भन्नेमा ध्यान दिनुपर्छ । उनीहरुको उपचार गर्ने स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने भन्नेमा पूर्वतयारी गर्नुपर्छ ।

यतिबेला हाम्रो काम अस्पतालहरुमा भेन्टिलेटर हाल्ने होइन । किनकि तत्काल त्यो सम्भव छैन । विदेशी कम्पनीले अहिले भेन्टिलेटर पठाउन असम्भव छ । त्यसैले हामीसँग भएका स्रोत उपयोग गर्नुपर्छ । भएका स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

आईसीयूमा काम गर्ने चिकित्सकहरुलाई तालिम दिन भनेर हामीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव हालेका छौं । सरकारले स्वास्थ्यकर्मीहरु पठायो भने इन्फेक्सन कन्ट्रोल र आईसीयूको तालिम हामी दिन्छौं । खोइ यो काममा ध्यान दिएको ?

यस्तो तयारीले स्वास्थ्यकर्मीहरुमा कस्तो सन्देश जान्छ ?

सत्य बोल्दा नराम्रो सुनिएला तर यही अवस्था रहिरह्यो भने भयावह अवस्था आउँछ । स्वास्थ्यकर्मीहरुको भागाभाग हुने स्थिति हुन्छ । मसँग पीपीई छैन र यही अवस्थामा कोही संक्रमित बिरामी आयो भने उसलाई कसरी जाँच्ने ? मसँग गाउन र एन नाइन्टी फाइभ मास्क छैन भने म कसरी बिरामी जाँच्न जान्छु ? म मेरो कर्मचारीहरुलाई कसरी बिरामी जाँच भनेर निर्देशन दिन सक्छु ? एम्बुलेन्स चालकले आफ्नो सुरक्षाको ग्यारेण्टी बिना कसरी बिरामी ल्याउँछ ?

त्यसैले म फेरि पनि भन्छु, अहिले संक्रमण देखिएको छैन र हामी पूर्व तयारी भइरहेको छ भनिरहेका छौं । यदि संक्रमण फैलियो र पीपीई लगायतका सुरक्षा किटहरु पनि उपलब्ध भएन भने चिकित्सकहरु भाग्नु बाहेक अर्को विकल्प छैन ।

अझै पनि समय छ, कोरोनाको उपचार गर्नका लागि छुट्टै अस्पतालको व्यवस्था गरौं । यो टेकु, पाटन वा वीर भनेर नबसौं । आशंकित विरामीलाई कसरी अस्पतालसम्म लैजाने, कसरी उपचार गर्ने भन्ने छिटो निर्णय गरौं । नभए भागाभागको स्थिति हुन्छ ।

यो त अलि निराशावादी कुरा भएन र ?

मैले यस्तो भन्दा सरकारले काम नगरेको जस्तो सुनिन्छ । काम नगरेको होइन, लगातार मिटिङ भइरहेको छ, निर्णयहरु भएका छन् । तर संक्रमण फैलियो भने के हुन्छ र कसरी काम गर्ने ? भन्ने कार्ययोजना नै छैन । को चिकित्सकहरु कसरी खटिने ? कहाँ खटिने ? धेरै वटा अस्पतालमा बिरामी राख्ने भनेर हुन्छ ? क्षमता र पूर्वतयारी अध्ययन गर्नु पर्दैन ?

कहाँनेर गल्ती भयो, जसको कारण पूर्वतयारी पर्याप्त भएन ?

पूर्वतयारी नगर्नु नै सरकारको ठूलो गल्ती हो । एक महिना अगाडि नै हामीले पीपीई चाहिन्छ भनेका थियौं । तर उहाँहरुले ध्यान दिनुभएन । अहिले पनि केही अस्पताल खाली गरेर कोरोनाको लागि छुट्टै बेड तयार गरौं भनिरहेका छौं । उहाँहरुले सुन्नु भएको छैन । यस्ता काम भएकै छैन भने हामी स्वास्थ्यकर्मीहरु कसरी ढुक्क भएर काम गर्नु ? जनताहरु कसरी ढुक्क भएर बस्नु ?

हामीलाई यतिबेला डाक्टर र नर्स होइन, पीपीई चाहिएको छ । त्यो खोई ? केही प्रभावकारी औषधि चाहिएको छ । त्यो खोई ? यस्ता ससना तर महत्वपूर्ण काममा ध्यान नदिने, अनि तयारी अवस्थामा छौं भनेर मात्र हुन्छ ? अहिले स्वास्थ्य मन्त्रालयमा पीपीई कसले व्यवस्थापन गर्ने भनेर सोध्दा एकले अर्कोलाई देखाउँछन् । यसरी कसरी चल्छ ? माथिल्लो लेभलका मानिसहरु मात्रै सिरियस भएर हुन्छ ? काम पनि हुनुपर्‍यो ।

त्यसो भए हाम्रो पूर्वतयारी कुन अवस्थामा छ ?

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नेपालमा फैलिन्न भन्नु मुर्खता हो । ढिलो चाँडो फैलिन्छ । त्यसैले हामीले पूर्वतयारी राम्रोसँग गर्नुपर्छ, जसको समय पनि पाएका छौं । यहाँ हामी भन्नुको मतलब सरकार मात्र होइन, हरेक नागरिक हो, हरेक संस्था हो । सबैले आफूले सक्ने तयारी गरिसक्नुपर्छ ।

तर हामीसँग न त तयारी छ, न क्षमता । आजको दिनमा मैले यति भन्न लाज मान्नु हुन्न । २/४ वटा अस्पतालमा १/२ सय बेड तयार पार्दैमा कोरोना नियन्त्रण गर्न सकिन्न । अरु देशमा के भइरहेको छ, त्यो हेरेर तयारी गर्नु पर्दैन ? खोई अरु देशको अवस्था हेरेर सिकेको ? पूर्व तयारीमा ध्यान दिएको ? न स्किल्ड म्यानपावर छ । न त छुट्टै अस्पताल । अब तपाईं आफै भन्नुस् हामी कुन अवस्थामा छौ ?

सरकारलाई सहयोग गर्न हामी नागरिक र स्वास्थ्यकर्मीले के गर्ने त ?

हामी जनताहरुले गर्ने तयारी भनेको भिडभाड नगर्ने, सेल्फ क्वारेन्टाइनमा बस्ने, कतै जानु पर्‍यो भने पनि निश्चित दुरी कायम गर्ने र साबुन पानीले बारम्बार हात धुने हो ।

त्यसैगरी स्वास्थ्यकर्मीले गर्ने तयारी भनेको आफैं भोलेन्टियरको काम गर्ने, कोरोनासँग सम्बन्धित उपचार कसरी गर्न सकिन्छ पढ्ने, बुझ्ने र सत्य तथ्य जानकारीहरु जनताहरुलाई दिने हो । मुख्य काम त सरकारले नै गर्ने हो । सरकारले गर्नुपर्ने काम गर्‍यो भने त नागरिकहरुले आफ्नो काम गरिहाल्छन् नि । स्रोतः अनलाईनखबर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*