सोमबारदेखि सार्वजनिक सवारी सञ्चालनमा रोक, एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने
सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले सोमबारबाट लामो दुरीका सवारी एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने भएका छन् ।
शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनका लागि यस्तो रोक लगाइएको जानकारी दिएका थिए ।
प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेअनुसार लामो दूरीका सवारी चलाउन पाउने आज अन्तिम दिन हो । तर लामो दूरी भनेको कति हो भन्ने आमनागरिकमा जिज्ञासा छ ।
यातायात व्यवस्था विभागका अनुसार २ सय ५० किलोमिटर भन्दा बढीलाई लामो दूरी भनिने भए पनि हालको परिस्थतिमा त्यसलाई आधार मान्न नमिल्ने बताइएको छ ।
हालको परिस्थितिमा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रने सार्वजनिक यातायातमा रोक लगाइने विभागले जनाएको छ ।त्यस्तै उपत्यका बाहिरको हकमा जिल्लाभरि सार्वजनिक यातायात चल्न पाउने तर जिल्लाको नाका कटेर अर्को जिल्लामा जान नपाउँने जनाएको छ ।
निजी सवारी साधन वा मोटरसाइकल र स्कुटरको हकमा भने हालसम्म कुनै निणर्य नभएको विभागले जनाएको छ । हालसम्म यस्ता सवारी साधन रोक लगाउने कुरा नभएको बताइएको छ ।