भारतबाट नेपाल आउने हरेक नागरिकको निगरानी गरिने
कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले भारतबाट नेपाल आउने हरेक नागरिकको निगरानी गरिने भएको छ । भारतसँग सीमा जोडिएका विभिन्न नाकाबाट नेपाली आउने क्रम बढेकाले उनीहरु सबैको निगरानी गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो ।
सीमा नाकामा रहेका सुरक्षाकर्मी र सम्बन्धित प्रदेश, जिल्ला र वडामा रहेको प्रहरीबीच समन्वय गरी सीमा क्षेत्र हुँदै नेपाल आएका नागरिकको निगरानी गरिने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताएका छन् ।
यस्तै उनीहरु सेल्फ क्वारेन्टाइनमा बसे नबसेको प्रहरीले अनुगमन गर्नेछ । अहिले संक्रमित देशबाट नेपाल आउने नागरिकको विवरण राख्न भनिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हवाई मार्ग हुँदै आएका केही नागरिकलाई क्वारेन्टाइमा राखिएकाले सीमा हुँदै आउनेको विवरण राखेर सेल्फ क्वारेन्टाइनमा बस्न लगाइने जनाएको छ । अहिले सीमा क्षेत्रमा कडाइ गरिएको पनि गृह मन्त्रालयले दावी गरेको छ ।