कोरोनाको त्रासः ‘व्यापार–व्यवसाय’ बन्द

कोरोना भाईरस (कोभिड–१९) को सङ्क्रमणको जेखिमलाई मध्यनजर गर्दै नेपाल व्यापार सङ्घले व्यापार – व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको सङ्घको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै यही चैत २१ गतेसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकाले सङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष कुमार कार्कीले जानकारी दिएको छ ।
अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताउनुभयो । बैठकले कोभिड–१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रलाई व्याजदर र घरधनीलाई घरभाडामा विशेष सहुलियत दिन मागसमेत गरेको छ । विसं २०४७ मा स्थापित सङ्घमा हाल झण्डै एक हजार व्यवसायी आबद्ध छन् ।