नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार २३:३०
;

सरकारले ९ चैत आइतबार मध्यराति देखि नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत १८ गतेसम्मका लागि सम्पुर्ण हवाइ उडान बन्द गरेको हो । 

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम सूचना जारी गर्दै नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म स्थगन गरिएको जनाएको छ ।

प्राधिकरणले यस निर्णयबाट नेपालबाट अन्तरराष्ट्रतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडानमा असर नपर्ने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसर त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे यही चैत ७ गते साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा चैत ९ देखि १८ गतेसम्मका लागि अन्तरराष्ट्रिय उडान स्थगन हुने जनाएका थिए ।

आज रातिदेखि कुनै पनि यात्रुवाहक जहाज नेपाल प्रवेश गर्न नपाउने प्राधिकरणले जनाएको छ । प्रधिकरणका अनुसार विदेशबाट विनायात्रुको जहाज भने नेपाल आउन पाउने बताएको छ । 

नेपालबाट विदेश जाने यात्रुलाई भने ती वायु सेवा कम्पनीले लैजान सक्नेछन् बताइएको छ । अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने प्रधिकरणले जनाएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवाप्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेको प्रधिकरणले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*