प्रहरी र पत्रकारले यसरी लुटेका थिए हिरा
प्रहरी र पत्रकार नै लुटपाटमा संलग्न भएको घटना सावजनिक भएको छ । मकवानपुरको पालुङमा रहेको इलाका प्रहरी चौकीले प्रहरी र पत्रकार सहित ४ जनालाई लुटपाटमा संलग्न रहेकोले प्रकाउ गरे पछि घटना सार्वजनिक भएको हो ।
मकवानपुरको कैलाश गाउँपालिका–५ की ७० बर्षीया धनलक्ष्मी गुरुङ्गको साथमा रहेको हिरा लुटेर भागेका प्रहरी र पत्रकार सहित ४ जनालाई पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा एक प्रहरी सहायक निरीक्षक, २ जना प्रहरी जवान र १ जना पत्रकार रहेको जनाइएको छ ।
गुरुङ्गका स्वगीय श्रीमानले विदेशमा रहँदा कमाएको खरीदबिल सहितको सो हिरा खरीद गर्न व्यापारीको भेषमा उनीहरु गएको जनाईएको छ । घरायसी काम र ऋण तिर्नका लागि हिरा बिक्री गर्न लागेको र सो थाहा पाएपछि उनीहरु खरीद गर्न गएको जनाईएको छ । हिरा ३ करोड रुपैयामा खरीद गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिरा खरीद गर्न गएका उनीहरुले मोलतोल गरेर हिरा हातमा लिएपछि पेस्तोल देखाएर भागेको मकवानपुर प्रहरीले जनाएको छ । हिरा लुटेपछि गुरुङ्गका आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय पालुङ्गमा खबर गरीएको थियो ।
खबरप्राप्त भएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास कुमार तामाङ्गको प्रहरी टोलीले प्रदेश ३–०१–०१–००२२ च ३३६२ नम्बरको कार सहित सुर्खेत वीरेन्द्रनगर–१२ घर भएका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बस्याल, जाजरकोट शिवालय गाउँपालिका–२ घर भएका प्रहरी जवान वीरबहादुर बस्नेत, दाङ्ग सिजुवा गाउँपालिका–१ घर भएका प्रहरी जवान हिमाकान्त पुन मगर र ललितपुर भैसेपाटी बस्ने पत्रकार सुजन आचार्यलाई थाहा नगरपालिका–३ बाट पक्राऊ गरेको थियो ।
उनीहरुको साथबाट हिराको डल्लो १ थान, वाकीटकी ४ थान, मेटल डिटेक्टर २ थान, पेस्तोल १ थान, गोली ७ राउण्ड, मोबाईलफोन ७ थान, ल्यापटप १ थान, क्यानोन क्यामेरा १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।