कोरोनाको त्रासः कम सजाय तोकिएका कैदीहरुलाई पैसा तिराएर छाडिँदै

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार २३:१९
;

विश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)को नियन्त्रणका लागि सरकारले आजदेखि थुनुवा छाड्न थालेको छ । आज सोमबार पहिलो चरणमा देशभरका जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार मुद्दामा कारागारमा रहेकाहरुलाई छाडेको छ । 

आज डिल्लीबजार कारागारबाट १५ जना छुटेका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले नख्खु कारागारबाट ५ जना छोडेको छ । यही मुद्दाका अरु ६ जनालाई पनि छाड्न प्रशासनले प्रक्रिया अगाडि बढाएको छ ।

सर्वोच्च अदालतको आदेशपछि थुनुवा छाड्ने प्रक्रिया अगाडि बढाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालयले नै निर्णय गर्न सक्छ ।  अघिल्लो महिनाको तथ्यांक अनुसार देशभर अभद्र व्यवहार मुद्दामा करिब डेढ सय जना थुनामा छन्।

यस्तै जिल्ला अदालतहरुले पनि एक वर्षभन्दा कम सजाय तोकिएका र सुधारगृहमा रहेका बालबालिकाहरुलाई छाड्ने प्रक्रिया सुरु गरेको छ । बालबालिकालाई अविभावकको जिम्मा लगाउने तयारी गरिएको र अन्य कैदीलाई दैनिक तीन सय रुपैयाँका दरले कैदवापत तिराएर छाड्न लागिएको हो । कारागार कार्यालय धादिङमा रहेका ९ जना कैदीलाई दैनिक ३ सय रुपैयाँ लिएर छाडिएको छ।

यस्तो व्यवस्था कानुनमा भएपनि यसबीचमा कार्यन्वयनमा थिएन। तर सर्वोच्चको पूर्ण इजलासले यो निर्णय कार्यन्वयन गर्न आदेश दिएको हो।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*