लकडाउन पुर्ण रुपमा कार्यान्वयन गर्ने सुरक्षा समितिको निर्णय
मकवानपुर जिल्लाको सुरक्षा समितिको वैठक वसेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याउन चोक चोकमा प्रहरी तैनाथ गर्ने निर्णय गरेको छ ।
विश्व व्यापी रुपमा फैलीएको कोरोना भाइरसको संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले मंगलबार विहान ६ बजे देखि देशभर लकडाउन गर्ने निर्णय संगै मकवानपुरमा पनि लकडाउन कार्यान्वयन गर्न प्रहरी लागि परेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको नेतृत्वमा बसेको सुरक्षा समितिको वैठकले सरकारले गरेका निर्णयलाई कार्यान्वयन गराउनका बाक्लो मात्रामा प्रत्येक चोक चोकमा प्रहरी परिचालन गर्ने निर्णय गरीएको हो ।
हेटौंडा बजार क्षेत्रमा मात्र पाँच वटा प्रहरी भेनले गस्ति गरिरहेको जनाइएको छ । सरकारले गरेका निर्णय कार्यान्वयन गराउन आफुहरु तयार रहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताएका छन् ।
यो अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र सवारी साधन चलाउन रोक लगाइएको छ । मानिसहरुलाई घर बाहिर निस्किन समेत रोक लगाइएको छ । गृह मन्त्रालयका अधिकारीहरुले सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगाउँ सक्नेछ भने सुरक्षा बाहेकका अन्य कारणले मानिसहरुलाई आउ–जाउ गर्न नदिन रोक लगाउने गरिन्छ । लकडाउन संक्रामक रोग ऐन–२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारीले लगाउन सक्ने छ ।
लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद सजाँय हुने कानुनी व्यवस्था रहेको छ । लकडाउनको बेला पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ । स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् ।
यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँने छन् ।